काठमाण्डु– झिझिया एक प्राचीन लोकनाच हो जो यतिबेला मिथिला संस्कृतिको पहिचान बन्न पुगेको छ । नेपालदेखि भारतीय मिथिला क्षेत्रमा दसैँको बेला नाचिने झिझिया नाच प्रत्येक वर्ष महोत्वसको रुपमा सञ्चानल हुनथालेपछि यसको लोकप्रियता झनै चुलिएको हो । सांस्कृतिविदहरुले यसलाई तन्त्रविधि अनुसार नाचिने नाच भने पनि वास्तवमा यसबारे कुनै ठोस् प्रमाण उपलब्ध छैन । संस्कृतिविद् एवं साहित्यकार रेवतीरमण लालकाअनुसार झिझिया मिथिला क्षेत्रको सांस्कृतिक लोक नृत्य हो ।
यो नाच विशेष रूपमा विजयादशमीको समयमा प्रदर्शन गरिन्छ । पूर्वमा उक्त नाचदेवी भवानीप्रति भक्ति अर्पण गर्न तथा आफ्नो परिवार र बालबच्चालाई बोक्सी, कथित कालोजादू तथा नकारात्मक ऊर्जाहरुबाट जोगाउनको लागि गरिन्थ्यो । रङ्गकर्मी, सिनेकलाकार एवं साहित्यकार रमेशरञ्जन भन्छन् , “दसैँमा दुर्गाभवानीको प्रतिष्ठान गरिन्थ्यो । प्राचीन कालखण्डमा त्यस्तै कुनै अनुष्ठान भइरहेको थियोहोला, यो नाच त्यसैको स्वरुपमा आएको र पछि विस्तार भएको हुनसक्छ । देवीको अनुष्ठान तात्कालीन समयमा मूलतहः तन्त्रसाधनाको लागि गरिएको मनिन्थ्यो । नकारात्क शक्तिको विरुद्धमा सकारात्मक शक्तिको आह्वाहनका लागि सो साधना गरिएको हुनसक्छ । यद्यपि यसको कुनै ठोस प्रमाण पाइँदैन । यस नाचलाई शास्त्रीय पद्दति भन्नु उपयुक्त हुन्छ ।”
रञ्जन भन्छन्, “म तन्त्रमन्त्रको ज्ञाता होइन तर झिझियामा गाइने लोकगीतमा तन्त्रमन्त्र र डाइन अर्थात बोक्सीलाई गाली गरिएको पाइन्छ भने नाचमा नर्तकीको शरीरको सञ्चालन विधि र यसको अन्तर्यमा तन्त्र तथा लोक अनुष्ठान रहेको अनुमान लगाउँन सकिन्छ ।”
झिझिया नाचको आफ्नै समाज विज्ञान
डा. लालका अनुसार, ‘नाचको सुरुवात कहिले भएको थियो भन्नेबारे कुनै ठोस् आधार वा प्रमाण उपलब्ध छैन । तर समाजमा कालाजादू र टुनामुना गर्ने महिला–पुरुषहरुको उपस्थिति रहेको भन्दै सातौँ वा आठौँं शताब्दीतिरदेवी पूजामा त्यस्तो तान्त्रिक शक्ति जागृत गरिने वा हनुे मान्यता रहेको छ । जसअनुसार त्यसलाई निस्तेज गर्न र आफ्ना सन्तान, परिवारलाई सुरक्षित राख्ने उद्देश्यले उक्त नाचको प्रारम्भ भएको जनविश्वास रहँदै आएको छ ।’
झिझिया नाचको आफ्नै समाज विज्ञान रहेको डा लाल बताउछन् । झिझियालाई तान्त्रिक नाचको रुपमा हेर्नुपर्ने उनको तर्क छ । यस विषयमा साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमलको मान्यताअनुसार,‘वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कलान्तरमा गएर झिझिया नृत्यकोस्वरुप धारण गरेको मानिन्छ । यो पूर्णरुपले तान्त्रिक नृत्य हो र यसको आफ्नै स्वरुप छ ।’ डा विमलले आफ्नो पुस्तक ‘मिथिलाको इतिहास, संस्कृति र कलापरम्परा २०६२’मा समेत सो कुराको उल्लेख गरेका छन् । डा विमलकाअनुसार, ‘झिझिया नाचमा तान्त्रिक विधिको विशेष महत्व रहेको छ । यो मिथिलाको लोक परम्पराको रुपमा विस्तारै विकास हुन पुग्यो ।
यद्यपि रङ्गकर्मी रञ्जन भन्छन्, “झिझिया मूलरुपमा मिथिलाको लोकनाच हो । गाउँघरमा चर्चित लोकनाच विस्तारै व्यावसायिक मञ्चसम्म पुग्न सफल भयो र त्यसपछि यसको चर्चा वृहतरुपमा हुनथालेको हो ।”
शक्तिशाली छ झिझियाको रिद्म
रङ्गकर्मी रञ्जनका अनुसार झिझिया नाचको ख्यातिको मुख्य कारण यसको रिद्म नै हो । जो यति शक्तिशाली छ जसले शरीर सञ्चालित गरिदिन्छ । साथै झिझियाको गीत र धुन आफ्नो कर्णप्रियताको कारणले सहजै दर्शक तान्न सफल छ । उनले नाचमा प्रयोग हुने माटोको भाँडो, दियो, घैँटा जो मिथिलाका मौलिक वस्तु र पहिचान हुन् । एकमाथि अर्को गर्दै पाँचदेखि सातवटा घैटा टाउकोमाथि राखेर बिना हातको सहारा नाच्ने तरिका, शैली र कला आफैमा सशक्त छ । यो मौलिक तरिका हो ।
गाउँदेखि आधुनिक मंचसम्मको यात्रा
रङ्गकर्मी रञ्जनका अनुसार गाउँघरमा आफ्नो मौलिक पहिचानसहित प्रत्येक वर्ष दसैँमा झिझिया नाच्ने गरिन्थो ।आज पनि केही स्थानमा मौलिक गायन र नृत्य रहितको झिझिया देख्न सकिन्छ तर यसको चर्चा आधुनिक मञ्चमा आएपछि झन वृहत रुपमा हुन थालेको हो ।
उनले स्मरण गर्दै भने,“झिझियालाई आधुनिक मञ्चसम्म ल्याउने श्रेय जनकपुरस्थित मिथिला नाट्य कला परिषद (मिनाप)ले रङ्गमञ्चमा लाइभ डान्स प्रोग्रामको आयोजना गरेसँगै भएको हो । त्यसअघि झिझियाको मञ्च प्रस्तुति भएको थाहा छैन । यो सम्भवतः २०४९ सालतिरको कुरा हो । त्यतिबेला अन्य लोकनाचको प्रदर्शनसमेत भएको थियो ।
त्यसपछि कला–साहित्य क्षेत्रमा उदियमान युवाहरु गीतकार अशोकदत्त, गायक सुनिल मल्लिक, आभाषलाभ, रश्मिरानी र सङ्गीतज्ञ प्रवेश मल्लिकहरुको टिमले मिथिलाका लोकगीतको क्यासेट‘गीत घर–घरके’ निकाले । जो वास्तवमा लोक कण्ठमा र घरघरमा बज्न थाल्यो । जसमा रहेको झिझिया लोकगीत‘तोहरे भरोसे बढम बाबा झिझिरी बनेलियै हो’ गीत कल्ट हुनपुगयो ।त्यसयता बज्ने प्रायः झिझिया गीत त्यतिबेला गरिएको रेकर्ड रहेको रङ्गकर्मीरञ्जन स्मरण गर्छन् । उनले झिझियाका अन्य लोकगीतको रेकर्ड प्रायः कमै रहेको बताए । उनले, त्यसपछिमात्रै अन्य कलाकार र सङ्घ संस्थाले झिझियालाई मञ्चमा प्रस्तुत गर्दै आज महोत्सवसम्म ल्याइपुर्याएको बताए ।
झिझिया नाच्नेको खुट्टा किन रोकिनु हुन्न
संस्कृतिविद लाल भन्छन्, “दुई दशक अघिसम्म पनि जनकपुरमा घटस्थापनाको दिनदेखि विजयादशमीसम्म रात्रिकालमा महिला र युवतीहरुको समूहले झिझिया नाच नाच्दै गाउँ–घर र टोलटोल घुम्ने गरेका दृश्य देख्न सकिन्थ्यो । महिलाहरुले टाउकोमा माटोको घैँटो राखेर त्यसभित्र बलिरहेको दियो राख्थे, घैँटोमा थुप्रै प्वालहरू बनाइएको हन्थ्यो जसबाट निस्किेको दियोको मधुरो प्रकाश मनौँ लोभ्याउने खालको हुन्थ्यो ।
जनविश्वासअनुसार बोक्सीहरुले घैँटोको प्वाल गणना गर्न सफल भएमा नर्तकीको तत्काल मृत्यु हुन्थयो। त्यसैले झिझिया नाचिरहेकी महिलाहरुको खुट्टा निरन्तर चलिरहन्थ्यो, नृतिकाहरु नथाकी नाच्नमा मग्न हुन्थे ।”यद्यपि यस कुराको कुनै ठोस आधार नरहेको उनी बताउछन् । झिझिया नाचको मौलिकता भने आज पनि मधेशका केही गाउँमा कायम छ । महोत्तरी जिल्लामा प्रायः स्थानमा नर्तकीहरुले स्वयम् गीत गाएर नाच्ने चलन विद्यमान छ । महोत्तरी, जलेश्वर निवासी राकेश पिसीका अनुसार मठिहानी, गौशालालगायतका नगरपालिका र गाउँपालिका स्थानीय मुसहर, खत्वे, मुखिया, मण्डल लगायतका कलाकारले प्रत्येक वर्ष दसैँभरि विभिन्न मगवतीको मठ–मन्दिरमा झिझिया नाच सुरुगर्दै टोलका प्रत्येक घरमा नाच्दै पुग्छन् । घरकी महिलाहरुले पहिले दियोमा हाल्नको लागि तेल र केही दक्षिणा दिने चलनअनुसार आज पनि दक्षिणा दिएर विदा गर्ने परम्परा कायम छ ।
डा. लालकाअनुसार यो आज पनि तान्त्रिक विधिअनुसार सिद्ध गरेपछि मात्रै नाच्न आरम्भ गरिन्छ । यय विषय जलेश्वरनिवासी राकेश पिसी भनछन्,“झिझिया तयार पार्दा तन्त्रमन्त्रसहित तयार गर्नेगरिन्छ ।” यद्यपि गाउँघरतिर सो परम्परा रहे पनि सहरकेन्द्रित झिझियामा त्यस्तो दृश्य विरलै देख्नसकिन्छ । संस्कृतिविद् डा. लाल भन्छन्, “पहिले झिझिया नाचप्रति एकप्रकारको भय विद्यमान हुन्थयो । झिझिया नाच प्रायः साना केटाकेटीलाई देखाइदैन थियो भने महिलाहरुले पनि घरको झ्याल ढोका थुनेर सानो प्वालबाट चियाएर मात्रै हेर्थे ।
हामी सानो हुँदा गाउँमा झिझिया नाच्दै हिँड्ने महिला घर आउँदा आमाले झ्याल र ढोका थुनेको आज पनि सम्झन्छु म । त्यतिबेला दसैँमा कालोजादूको प्रयोगले अनिष्ट हुने भय विद्यमान थियो । वास्तवमाझिझिया नाच्दै हिँडेकी महिलाहरुले घरघरबाट तेल मागेर दियोमा थप्ने परम्परा थियो । घरका बुढापाकाहरुले मात्रै तेल र केही अन्न, रुपैयाँ पैसा प्रदान गर्थे जसले विजयादशमीको दिन प्रसाद वितरण गरेर झिझिया नाच विसर्जन गरिन्थ्यो ।’मिथिलाका मुसहर, चमार, र कुम्हारलगायतका जाति विशेषका महिलाहरुले झिझिया बनाउने र नाच्ने गरेको संस्कृतिविद् लाल बताउछन् ।
झिझिया लोकनाच धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सालगायतका जिल्लामा नाच्ने चलन अझै विद्यमान छ ।झिझियालाई मिथिलाका युवाहरुले जर्गेना गर्दै आइरहेका छन् ।जनकपुर र जलेश्वरलगायतका विभिन्न सङ्घ संस्थाले महोत्सवको रुपमा आयोजना गरेर झिझियालाई जीवन्त राखेकाछन् । यो नाच सजिलो नहेको संस्कृतिविद् लाल बताउछन् । उनका अनुसार,‘यसका लागि नर्तकीहरुले लामो अभ्यास गरेका हुन्छन् । अहिले महोत्वहरुमा नाचिने झिझिया नाचका नर्तकीहरुलेसमेत यसको लागि प्रशिक्षण र अभ्यास गरेर मात्रै सहभागी हुने गरेका ।
डा. लाल भन्छन्,“अहिलेका नव पुस्ताले बोक्सी र कालाजादूजस्तो कुरामाथि विश्वास गर्न छोडेको छ, जुन सकारात्मक पक्ष हो । युवा पुस्ताको आफ्नो कला तथा परम्पराप्रति बढेको जागरुकताले गर्दा यो पारम्परिक तान्त्रिक नाचमा मात्रै सीमित नरहेर मिथिला संस्कृतिको अभिन्न अङ्ग बन्न पुगेको छ । जसलाई विभिन्न प्रयोजन र उत्सव–महोत्वको रुपमा आयोजना गर्नुले यसको प्रचारप्रसार बढेको छ । नाट्यकर्मको लागि समर्पित संस्था रङ्गदर्पण नेपालका प्रमुख रितेश पाटिलकाअनुसार झिझिया नाचप्रति आम जनसमुदायको जिज्ञाषा बढेको छ । राजधानी काठमाडौँदेखि विदेशसम्म विभिन्न कार्यक्रममा झिझिया प्रस्तुत हुनथालेको छ ।
पाटिल भन्छन्, मिथिलामा आयोजना हनुे कायक्रम अथवा मैथिली भाषा–साहित्य, संस्कृतिलगायतका कार्यक्रममा झिझिया नाच देखाउने प्रचनल सुरु भएको धेरै भयो । प्रत्यके उत्सव र महोत्वसहरुका झिझिाया नाच देखाउँदै आएको रङ्गदर्पणले नेपाल प्रज्ञा प्रतिष्ठानलगायत काठमाडौँ तथा तराईको प्रायः सबै शहरमा झिझिया नाचको प्रस्तुति गरिसकेको छ । पाटिलले झिझिया नाच सजिलो नरहेको बताउँदै भने,“यसको लागि नृत्य गर्ने भाइबहिनीलाई विशेष प्रशिक्षण दिनुका साथै लामो अभ्यासपछि मात्रै मञ्चमा उतार्ने गरेका छौँ ।’आउने दिनमा यसको लोकप्रियता झनै बढ्नेमा पाटिल ढुक्क छन् ।
पर्फमिगं आर्ट लोक मञ्चमा गएपछिको चुनौती
रङ्गकर्मी तथा साहित्यकार रञ्जन भन्छन्, “पर्फमिगं आर्ट जब लोक मञ्चमा जान्छ त्यो आफ्रनै मौलिक स्वरुपमा जान्छभन्ने ग्यारेन्टी गर्न सकिन्न । संस्कृतिको पुनःउत्थानलाई खतरनाक मानिन्छ । म त्यसको विरोध गर्दिन यद्यपि पुर्नाविष्कार गरिनुपर्छ । समय र समाजअनुकूल तत्वलाई पुर्नजीवन प्रदान गरिनुपर्छ ।’ उनका अनुसार पुरानै लोक परम्पराअनुसार जाच्ने धेरै थोरैछन् । अहिले नाचिने झिझिया नाच परिवर्त हुँदै आएका अवस्था छ । यद्यपि कतिपय ठाउँमा अत्यन्त विकृत र भद्धा नाच भइरहेकोप्रति हामी सचेत हुनैपर्छ । झिझियाको कलापक्षलाई अक्षुण्ण राख्नु चुनौति बनेकोप्रति संस्कृतिविद् लाल भने चिन्ता व्यक्त गर्नुहुन्छ ।
यस वर्ष पनि झिझिया महोत्सव
महोत्तरी जिल्लाका १५ वटा पालिकाहरुले झिझिया महोत्सवको लागि आर्थिक सहयोग गरेको राकेश बताउछन् । उनले जलेश्वरस्थित शङ्कर चौक–१ र दुर्गाचौक २ स्थिति दुर्गामन्दिरमा झिझिया महोत्वसको आयोजना हुनलागेको जानकारी दिए । त्यस्तै गौशाला नगरपालिकास्थित दुर्गामन्दिरमा पन्डालको निर्माण गरि चान प्रदर्शन गरिँदैछ । स्थानीय किशोरी र महिलाको विभिन्न १० वटा समूहले महोत्सवहरुमा सहभागिता जनाउँदैछन् । कलाकारलाई आर्थिक सहयोग र साडी प्रदान गरिने राकेश बताउछन् । गत वर्षजस्तै यस वर्ष पनि जनकपुरमा नव मिथिला फाउन्डेसनले झिझिया महोत्सव सञ्चालन गर्ने भएको छ । आउँदो बुधबारदेखि झिझिया प्रारम्भ हुने फाउन्डेसनका अध्यक्ष अमित कुमारले जनकारी दिए।
फाउण्डेसनले मिथिलाको लोक संस्कृति, लोक नाच र धार्मिक परम्परालाई ध्यानमा राख्दै झिझिया आयोजना गर्न लागेकोे जनाएको छ । जनकपुरस्थित रेल्वे स्टेशनको प्राङग्रणमा हुने महोत्सवमा स्थानीय लोक गायकहरूको सहभागिता रहने छ । फाउण्डेसनका अध्यक्ष अमितका अनुसार, विभिन्न सङ्घ संस्थासहित विद्यालय अन्तर्गतको झिझिया समूहले पनि यस पटह महोत्सवमा भाग लिँदैछन् ।
जसमा मिथिला झिझिया समूह, मिथिलेश्वर झिझिया समूह, धनुषाधाम, जनकपुर एकेडमी स्कुललगायतको सहभागिता रहनेछ । उनले ५ सय कलाकारको सहभागिता रहने बताउँदै आफूहरु अन्तिमचरणको तयारीमा रहेको जानकारी दिए ।मधेश प्रदेशको अधिकांश स्थानमा यतिबेला झिझियाको उत्साह रहेको संस्कृतिविद् रेवतीरमण लाल बताउछन् ।
प्रतिक्रिया