एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बईमा उद्योगपति रतन टाटाको अन्त्येष्टिका लागि बिहीबार शोक मनाउनेहरुको भीड जम्मा भएको छ ।
बुधबार ८६ वर्षको उमेरमा निधन भएका टाटाले टाटा समूहलाई सफ्टवेयरदेखि स्पोर्ट्स कारसम्मका ‘पोर्टफोलियो’सहितको विशाल अन्तर्राष्ट्रिय उद्यममा रूपान्तरण गरेका छन् ।
मुम्बईले उनको निधनमा एक दिन शोक मनाउने घोषणा गरेको छ । टाटाको पर्थिव शरीरलाई बिहीबार दिउँसो अन्त्येष्टि गरिने छ।
भारतको राष्ट्रिय दैनिक ‘द हिन्दू’ पत्रिकाले आफ्नो पहिलो पृष्ठमा उनलाई ‘भारतीय उद्योगको एक टाइटन’ को संज्ञा दिँदै उनको निधनको खबर छापेको छ । हिन्दुस्तान टाइम्सले उनको निधनबाट ‘भारतले आफ्नो मुकुटको गहना गुमाएको’ उल्लेख गरेको छ ।
एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले यो टाटा समूहका लागि मात्र नभई हरेक भारतीयका लागि ठूलो क्षति भएको बताए।
टाटाको जन्म सन् १९३७ मा मुम्बईमा पारसीपरिवारमा भएको थियो, जुन एक गौरवशाली तर घट्दो समुदाय हो जसले बेलायती शासनअन्तर्गत शहरको व्यापारिक मामिलामा ठूलो भूमिका खेलेको थियो।
उनले न्युयोर्कको कर्नेल युनिभर्सिटीबाट स्नातक गरेपछि आर्किटेक्टको रूपमा आफ्नो जीवनलाई भारतप्रति समपर्ण गरेका थिए । पढाइ सके लगत्तै उनी स्वदेश फर्की स्वदेशी उद्योगको श्रीवृद्धिका लागि योगदान गरेका थिए।
टाटाकी हजुरआमाको आग्रहपछि उनी विशाल पारिवारिक व्यवसायमा सामेल भएका थिए । सन् १९६२ तिर रतन टाटाले कलेज सकेर अमेरिकी सहर लस एन्जलसमा जागिर गरिरहेका थिए। त्यही बेला उनी एक युवतीसँग प्रेममा परे। विवाह हुने पक्का भएपछि तयारी सुरु भयो। कार्ड समेत छापियो। तर भारतमा रहेकी हजुरआमाको खराब स्वास्थ्यका कारण रतन भारत जानुपर्ने भयो। उनी विवाह हुन लागेकी प्रेमिकालाई सँगै भारत ल्याउन चाहन्थे। केटीको परिवारले उचित ठानेन।
त्यसपछि प्रेमसम्बन्ध अधूरै रहन पुग्यो। खर्बौँ सम्पत्तिका मालिक टाटाले विवाह नै गरेनन्। अर्थात् आजीवन अविवाहित रहे।
उनले सन् १९९१ मा पारिवारिक साम्राज्यको बागडोर सम्हालेका थिए र त्यस वर्ष भारतले भर्खरै सुरु गरेको आमूल मुक्त बजार सुधारको लहरलाई नेतृत्व दिएका थिए ।
टाटाको २१ वर्षको कार्यकालमा नुनदेखि स्टिलसम्म फैलिएको टाटा समूहले आफ्नो विश्वव्यापी पदचिन्ह विस्तार गरेको छ ।
उनले सन् २००८ मा बेलायतको घाटामा रहेका जगुआर र ल्यान्ड रोभर कार निर्माताहरूलाई २.३ अर्ब डलरमा किन्ने निर्णयले सुरूमा उनको निर्णय कतै गलत भएको त होइन भन्नेहरू देखिएपनि टाटा समूह र उनको लगनशीलताले दुबै ब्रान्डहरूको पुनर्संरचना गर्न र अर्को वर्ष तिनीहरूलाई नाफामा फिर्ता गर्न सक्षम भएको थियो ।
टाटा ग्रुपले उनको परोपकारी कार्यले लाखौंको जीवनलाई छोएको बताएको छ ।“शिक्षादेखि स्वास्थ्यसेवासम्म, उहाँको पहलले गहिरो छाप छोडेको छ जसले भावी पुस्तालाई फाइदा पुर्याउनेछ,” टाटा कम्पनीले भनेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटालाई ‘दूरदर्शी व्यवसायी, दयालु आत्मा र असाधारण मानिस’ भनेका छन् ।मोदीले भारतको सबैभन्दा पुरानो र प्रतिष्ठित व्यापारिक घरानामध्ये एकलाई स्थिर नेतृत्व प्रदान गरेकोमा टाटाको प्रशंसा गरेका छन् ।
प्रतिक्रिया