बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आयो

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाढी पहिरोले पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग १४ दिनपछि एकतर्फी सञ्चालनमा आएको छ ।काभ्रेको रोशी- ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।

यही असोज ११ र १२ गतेको बाढी पहिरोले पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग आजबाट एकतर्फी सञ्चालनमा आएको हो ।नेपाली सेना सहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले खटिएर आजबाट एकतर्फी खुलाउन सफल भएका हुन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी गराएका थिए ।

यही असोजको दोस्रो हप्ताको बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म क्षति पुर्‍याएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध थियो । राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरू गरिएको थियो । त्यसका लागि नेपाली सेना सहितका सुरक्षाकर्मी, भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागका प्राविधिक कर्मचारी तथा स्थानीय पालिकाहरुले अग्रसरता लिएका थिए ।

यो राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-६ र रोसी गाउँपालिका(७ सीमास्थल चौकीडाँडामा रोसी खोलाको बाढीले दुई सय मिटर सडक बगाएको स्थानमा डाइभर्सन सडक निर्माण गरिएको छ।

रोसी खोलाको बहावलाई सोझ्याएर खोला किनारमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी अस्थायी निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। त्यस क्षेत्रमा रोसी खोलादेखि २० देखि ५० मिटरसम्म उचाइमा रहेको सडकसमेत बगाएको थियो।

एकसय ६० किमिमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमि र नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमि गरी ८४ किमी सडकका विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो सडक निर्माण गर्दा प्रति किमि रु ३५ करोड खर्च गरेको थियो। निर्माण पूरा गरेर जाइकाले २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई यो राजमार्ग हस्तान्तरण गरेको थियो।