काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को शनिबार शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अभियानलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मानवता सर्वोच्च धर्म भएकाले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार हुने प्रतिबद्धता व्यक्त गरे । उनले पहिला मानवता, त्यसपछि देश भन्ने भावनालाई बोक्न आग्रह गरे ।
प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डोल्मा समेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले यात्रामा सहभागीहरूलाई दशैंको टीका प्रदान गरेका थिए ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिए । यात्रा आगामी कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया