विश्वका कम्युनिस्ट पार्टीका अगाडि विष्णु रिजालले के भने ?

विश्वका कम्युनिस्ट पार्टीका अगाडि विष्णु रिजालले के भने ?


काठमाडौं – ग्रीसको राजधानी एथेन्समा जारी विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २० औं बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले कार्ल माक्र्सले करिब पौने दुई सय वर्षअघि प्रतिपादन गरेको सिद्धान्त आज पनि शक्तिशाली भएको बताएका छन् ।

केन्द्रीय सदस्य विष्णु रिजालले सिंगो विश्व अहिले पनि उनको विचारको पक्ष वा विपक्षमा विभाजित रहेको तर्क गरेका हुन् । बैठकमा ७३ देशका ९१ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु सामेल रहेका छन् ।

बैठकमा केन्द्रीय सदस्य रिजालले नेपालमा कम्युनिष्ट पार्टीको अवस्था र आन्दोलनबारे जानकारी दिएका थिए । सबै प्रदेश र केन्द्रको सरकार नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरीरहेको सुनेपछि विश्वका कम्युनिष्टहरुले खुसी ब्यक्त गरे । रिजालले भने, ‘नेकपाले नेपालमा समाजवादको नयाँ उदाहरण देखाओस् र त्यसले विश्वका सबै कम्युनिस्टहरूलाई गर्व गर्न सक्ने बनाओस् भन्ने उहाँहरूको शुभेच्छा छ ।’ विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २० औं बैठकमा नेपालको तर्फबाट नेता रिजाल र नेता मोहन गौतम सहभागी छन् ।

नेता रिजालले कम्युनिस्ट पार्टी अफ ग्रीसले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको मन्तव्य :-

कार्यक्रममा भाग लिन विश्वभरबाट आउनुभएका कमरेडहरु,

विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका अग्रदूत गौतम बुद्ध र चुनावबाट कम्युनिस्टहरुले बर्चश्व हासिल गरेको पछिल्लो उदाहरणका रुपमा रहेको मुलुक नेपालका तर्फबाट क्रान्तिकारी अभिवादन व्यक्त गर्न चाहन्छु ।

स्थापनाको सय वर्ष पार गरेकोमा म कम्युनिस्ट पार्टी अफ ग्रीसलाई बधाई दिन चाहन्छु र यस ऐतिहासिक अवसरमा विश्वभरका कम्युनिस्ट तथा श्रमिक पार्टीका नेताहरुलाई बोलाएर यति सुन्दर कार्यक्रम आयोजना गरेका ग्रीसका कमरेडहरुलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा कम्युनिस्ट पार्टी अफ ग्रीसले सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।

हामी माक्र्सवादको सिर्जनात्मक प्रयोगमा विश्वास राख्छौँ । त्यसैले आआफ्नो मुलुकमा यसको प्रयोग, विकास र अनुभवहरुलाई अहिलेको सन्दर्भमा आपसमा बाँड्नका लागि यहाँ उपस्थित भइरहेका छौँ । महान् चिन्तक कार्ल माक्र्सले करिब पौने दुई सय वर्षअघि प्रतिपादन गरेको सिद्धान्त आज पनि कति बलशाली छ भन्ने कुरा यसैबाट थाहा हुन्छः सिंगो विश्व अहिले पनि या उहाँको विचारको पक्ष वा विपक्षमा विभाजित छ ।

वास्तवमा भन्दा कार्ल माक्र्सको विचार थेसिस हो भने त्यसका विकल्पमा अघि सारिएका विचारहरु एन्टि थेसिस मात्र हुन् । श्रमजीवी वर्गप्रतिको अगाथ विश्वास, उनीहरुको मुक्तिका लागि समर्पण र समाजवाद प्राप्तिका लागि कष्टसाध्य प्रयत्न नै माक्र्सवाद लेनिनवादले हामीलाई निरन्तर हिँड्न सिकाइरहेको बाटो हो । यस बाटोमा हामी आआफनो मुलुकमा जति योग्यता, कुशलता र सिर्जनशीलताका साथ हिँड्न सक्छौँ, माक्र्सवाद लेनिनवादप्रतिको हाम्रो निष्ठा त्यति नै मुखर हुँदै जान्छ भन्नेमा हामी विश्वस्त छौँ ।

प्यालेस्टाइन र सिरियामाथिको हमला, क्युवा, उत्तर कोरिया, भेनेजुयला जस्ता मुलुकहरुमाथिको बर्षौंदेखिको नाकाबन्दी, चीनसँग निहुँ खोजेर उब्जाइएको व्यापार संकट साम्राज्यवादी हर्कतका केही ज्वलन्त नमुना हुन् । सोभियत संघ र पूर्वी युरोपमा समाजवादले धक्का खाएपछि विजय महसुस गरेको पुँजीवादले आफ्नो क्रुर पञ्जा साम्राज्यवादमार्फत विश्वभर फैलाइरहेको छ । त्यसका विरुद्ध संसारभरका श्रीमजीवी, प्रगतिशील र क्रान्तिकारी जनता तथा तिनका शक्तिहरुका बीचमा अझ बढी एकता, समन्वय र सहकार्य थप अनिवार्य बनेको छ । मेरो विचारमा यस दिशामा आज हामी यहाँ जम्मा भएका विश्वभरका कम्युनिस्ट तथा श्रमिक पार्टीका प्रतिनिधिहरुको ध्यान पुग्नुपर्छ र तदनुकूलको वातावरण निर्माण गर्न आवश्यक छ ।

मैले माथि नै उल्लेख गरेको छु, हामीलाई हाम्रो सिद्धान्तले सिर्जनशील हुन, आआफ्नो राष्टिय परिस्थिति अनुकूल चल्न र आफ्ना मौलिकताहरुमा ध्यान दिन सधैँ प्रेरित गर्दै आएको छ । यही मान्यतालाई हामीले नेपालमा गहिरो गरी आत्मसात गरेका छौँ र माक्र्सवाद लेनिनवादको मौलिक प्रयोग गरेका छौँ । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर निर्मित नेपाल कम्युनिस्ट पार्टीसँग सशस्त्र संघर्ष र शान्तिपूर्ण संघर्ष दुबैको अनुपम अनुभव छ । एकता नहुँदैदेखि सहकार्यका माध्यमबाट हामीले नेपालमा २ सय ४० वर्ष पुरानो शाह राजतन्त्रको अन्त्य, मुलुकको समान विकासका लागि संघीय प्रणालीको अवलम्बन, सबै जनतालाई समानताको महसुस गराउन धर्म्निरपेक्षता घोषणा जस्ता युगान्तकारी कामहरु गरेका छौँ ।

कम्युनिस्ट पार्टीकै नेतृत्व र पहलमा संविधानसभाबाट नयाँ संविधान जारी गर्दै हामीले संविधानमै नेपाललाई समाजवाद उन्मुख राष्टका रुपमा संस्थागत गरेका छौँ । समयको पावबन्दीले मैले धेरै कुरा उल्लेख गर्न सकिनँ, सुन्दा सामान्य लागे पनि दशक लामो सशस्त्र संघर्षलाई शान्तिपूर्ण अवसरका रुपमा रुपान्तरण गरेर मुलुकलाई नयाँ दिशामा लैजाने काम चुनौतीपूर्ण थिएन । तर, हामीले सफलताका साथ यो काम सम्पन्न गरेका छौँ र आज सगरमाथा जस्तै उँचो शिर बनाएर तपाईं विश्वभरका कमरेडहरुका सामु भन्न भएका छौँ, हामीले विश्वको कम्युनिस्ट आन्दोलनमा नयाँ योगदान गरेका छौँ, नयाँ उदाहरण देखाएका छौँ ।

२०७४ असोज १७ गते आसन्न प्रादेशिक र सङ्घीय निर्वाचनमा गठबन्धन बनाएर जाने र निर्वाचनलगत्तै एकता गर्ने घोषणा गरेका दुई पार्टी २०७४ फागुन ७ गते पार्टी एकताका आधारहरुका बारेमा सहमतिमा पुगेका थिए । त्यसपछि राजनीतिक दस्तावेज र विधान निर्माण गरी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले कमरेड केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष केन्द्रीय नेतृत्व निर्माण गरेको छ । नेकपा –एमाले) ले अवलम्बन गर्दै आएको जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गर्दै आएको माओवाद तथा एक्काइसौँ शताब्दीको जनवादलाई हाल थाँती राखेर जनताको जनवादका रुपमा नयाँ कार्यक्रम अघि सारिएको छ र एकमत हुन नसकेका विषयहरुलाई आगामी दुई वर्ष्भित्र महाधिवेशन आयोजना गरी त्यसैमार्फत समाधान गर्ने सहमति भएको छ ।

एकतापछि हामी विश्वकै बलिया कम्यृनिस्ट पार्टीहरुमध्येको एक बनेका छौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले २ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभामा १ सय ७५ (६३ दशमलव ६३ प्रतिशत), ५९ सदस्यीय माथिल्लो सदन राष्ट्रिय सभा ९राष्ट्रपतिबाट मनोनीत तीनजना बाहेक ५६० मा ३९ (६९ दशमलव ६४ प्रतिशत), सातवटा प्रदेशसभाका ५ सय ५० सदस्यमध्ये ३ सय ५१ (६३ दशमलव ८१ प्रतिशत) सदस्य पदमा विजय हासिल गरेको छ ।

यसैगरी, ७ सय ५३ स्थानीय तहमा निर्वा्िचत ३५ हजार ४१ जनप्रतिनिधिमध्ये नेकपाले महानगर, उपमहानगर र नगरपालिका प्रमुख १ सय ५७, उपप्रमुख १ सय ६६, गाउँपालिका अध्यक्ष २ सय ४३, उपाध्यक्ष २ सय ५१, वडाध्यक्ष २ हजार ४ सय २६, महिला सदस्य ४ हजार ९ सय ४०, दलित महिला सदस्य ३ हजार ७ सय १० र खुल्ला सदस्य ७ हजार ४ सय १४ गरी १९ हजार ५ सय ४० ९५५ दशमलव ७६० जितेको छ । कमरेड केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा सङ्घीय सरकार निर्माण गरेको पार्टीबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष निर्वा्िचत हुनुभएको छ । सातमध्ये छ प्रदेशमा नेकपाको दुई तिहाई बहुमतको सरकार छ भने एक प्रदेशमा सबभन्दा ठूलो पार्टीका रुपमा स्थापित भएको छ ।

माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा अङ्गीकार गरेको नेकपा आफ्नो सैद्धान्तिक अवधारणाबारे स्पष्ट छ । २०७५ जेठ ३ गते जारी संयुक्त घोषणामा उल्लेख छ, ‘नेकपा –एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौँ शताब्दीमा जनवादसम्बन्धी सैद्धान्तिक एवम् राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाइनेछ ।

यिनै वैचारिक मान्यताहरू अनुरूप प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहनेछौँ । साथै, नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दादेखिको समाजवाद स्थापनाको महान् लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरू दृढ रूपले प्रतिबद्ध रहनेछौँ ।’

जनतामाथि विश्वास र भरोषा गर्दै जनअनुमोदन प्राप्त गरेर सबभन्दा ठूलो दल बनेको नेकपाको मान्यता छ, ‘शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वा्िचत प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य– मान्यतामा प्रतिबद्ध छ ।’

माछाका लागि पानी जस्तै कम्युनिस्ट पार्टीका लागि जनता नै सर्वेसर्वा हुन् । हामीले नेपालको कम्युनिस्ट आन्दोलनमा प्रयोग गरेको र सिकेको कुरा के हो भने जनतासँगको सम्बन्ध जति घनिष्ट बनाउन सक्छौँ, हाम्रो भविष्य त्यसैमा निर्भर छ । माक्र्सवादको उद्गमस्थल यस युरोपको भूमिमा उभिएर बोल्दा म नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट यही कुरामा सोच्न सबै कमरेडहरुलाई अपिल गर्दछु । आआफ्नो देशमा कम्युनिस्ट पार्टीलाई बलियो र लोकप्रिय बनाएर मात्रै हामीले श्रमजीवी वर्गको हितलाई प्रबद्र्धन गर्न सक्छौँ, साम्राज्यवादी ताकतसँग लड्न सक्छौँ, सबै प्रकारका शोषणहरुलाई समाप्त पार्न सक्छौँ, विश्वमा शान्ति कायम गर्न सक्छौँ र समाजवाद स्थापना गर्न सक्छौँ ।

नेपालका तर्फबाट यही दृढता दोहोर्याउँदै मेरा कुरा ध्यानपूर्वक सुनिदिनुभएकोमा सबै कमरेडहरुप्रति आभार प्रकट गर्दछु र आयोजक कमरेडहरुलाई यस सुन्दर आयोजनाका लागि पुनः हार्दिक धन्यवाद दिन चाहन्छु ।

माक्र्सवाद लेनिनवाद अमर रहोस् ।
हाम्रो यात्रा जारी छ ।।