अन्तर–व्यवस्थापिका संघको महासभामा अध्यक्ष दाहालले आज सम्बोधन गर्ने

अन्तर–व्यवस्थापिका संघको महासभामा अध्यक्ष दाहालले आज सम्बोधन गर्ने


जेनेभा – स्वीट्जरल्याण्डको जेनेभा जारी अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४९औं महासभालाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार सम्बोधन गर्ने भएका छन् ।

महासभालाई नेपाली समयअनुसार सोमबार साँझ ७ बजेपछि राष्ट्रियसभा अध्यक्ष दाहालले सम्बोधन गर्ने तालिका रहेको छ ।

महासभामा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दीगो भविष्यका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची छ ।

स्वीट्जरल्यान्डको जेनेभामा आईतबारदेखि सुरु भएको आईपीयूको १४९औं महासभामा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधिसभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रियसभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल सहभागी भएका छन् । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा र निजी सचिव उपसचिव नमराज नगरकोटी पनि प्रतिनिधिमण्डलमा छन् ।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । नेपाली प्रतिनिधिमण्डल कात्तिक ३ गते स्वदेश फर्किनेछ ।