साफ च्याम्पियनशिपका लागि महिला राष्ट्रिय फूटबल टीमको घोषणा

साफ च्याम्पियनशिपका लागि महिला राष्ट्रिय फूटबल टीमको घोषणा


काठमाण्डु – अखिल नेपाल फूटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनशिपका लागि महिला राष्ट्रिय फूटबल टीमको घोषणा गरेको छ ।

एन्फाले सोमबार २३ सदस्यीय टीमको घोषणा गर्दै नामावली सार्वजनिक गरेको छ ।

साफ महिला फूटबल च्याम्पियनशिप आगामी बिहीबारदेखि काठमाण्डुमा हुँदैछ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदैछन् ।

नेपाल समूह ‘बी’मा श्रीलंका, माल्दिभ्स र भुटानसँगै छ भने समूह ‘ए’मा भारत, बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुँदैछ । नेपालले शुक्रबार पहिलो खेल भुटानविरुद्ध खेल्नेछ ।

नेपालले यसअघिका सबै ६ साफ च्याम्पियनशिपमा भाग लिए पनि उपाधि जितेको छैन । नेपाल ५ पटक प्रतियोगिताको उपविजेता बनेको छ । हालसम्म भारतले प्रतियोगिताको ५ पटक उपाधि जितेको छ भने १ पटक बंगलादेशले उपाधि जितेको छ ।

नेपाली टीममा गोलकिपर अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ, डिफेन्डर गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर, मिडफिल्डर रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी तथा फरवार्ड रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी रहेका छन् ।