सिमकोट विमानस्थलमा ३ दिनपछि पुनः हवाइ उडान सुरु

सिमकोट विमानस्थलमा ३ दिनपछि पुनः हवाइ उडान सुरु


काठमाण्डु – हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा ३ दिनपछि पुनः हवाई उडान सुरु भएको छ ।

दशैंको अघिल्लो दिन हवाई उडान भएपछि यात्रु अभावले हवाई उडान हुन सकेको थिएन ।

यात्रु पाएपछि सोमबार तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेसन प्रमुख छिरिङ लामाले जानकारी दिए । सोमबार नेपालगञ्जदेखि तारा एयरले एकपटक तथा नेपाल एयरलाइन्सले दुईपटक उडान भरेका छन् ।

दुवै एयरलाइन्सले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामान समेत ढुवानी गरेका जनाइएको छ ।

‘मंगलबारका लागि टिकट बूकिङ भइसकेको छ । अब यात्रुको चाप बिस्तारै बढ्छ,’ उनले भने । नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यति धेरै नभए पनि हुम्लादेखि जिल्लाबाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको उनले बताए ।

सीता एयर र समिट एयरले सोमबार उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।