विकासका लागि बलिया राजनीतिक दल आवश्यक : महासचिव पोखरेल

विकासका लागि बलिया राजनीतिक दल आवश्यक : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकासका लागि बलिया राजनीतिक दल आवश्यक रहेका बताएका छन् ।

मंगलबार नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३ दाङको आयोजनामा पालिका कमिटीका नवनिर्वाचित नेताहरूलाई बधाई तथा प्रशिक्षण दिन तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले मुलुक निर्माणको लागि ३ वटा कुरा आवश्यक रहेको बताए ।

‘मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक छ, यी चिज दिन सक्यो भने मात्र मुलुक विकासको गतिमा अघि बढ्न सक्दछ,’ पोखरेलले भने ।

आज जो सबैभन्दा बढी गैरजिम्मेवार छ, राजनीतिमा उही नै बढी चर्चामा आउने विडम्बनापूर्ण स्थिति भएको उनले बताए । बैंकबाट ऋण लिएर नतिर्ने, सहकारी ठग्नेहरू आज राजनीतिको चर्चामा रहेका पोखरेलको भनाइ छ ।

‘जबसम्म अराजकहरू लोकप्रिय हुन्छन् समाजमा, तबसम्म त्यो समाजले प्रगति गर्न सक्दैन,’ पोखरेलले भने ।

सामाजिक सञ्जालमा आज सबै खराब कुरा मात्र देखिने गरेको उनले बताए । सामाजिक सञ्जाल समाजका अराजकहरूले कब्जा गरेका कारण यो स्थिति आएको उनको धारणा छ ।

पोखरेलले युरोप, अमेरिकाको सपना देखेर मात्र नहुने बताउँदै देशलाई त्यस्तै बनाउन बलिया राजनीतिक दल आवश्यक रहेको बताए । युरोप, अमेरिका बलिया राजनीतिक दलले बताएका उनले स्पष्ट पारे ।

प्रचारबाजहरूले देशमा विकास र समृद्धि दिन नसक्ने उनले बताए । लोकप्रियतावादका आधारमा दृष्टिकोण नभएकाहरू नेता बन्दा देश भड्खालोमा पर्ने पोखरेलले बताए ।

निराशाको बीचमा देशको विकास हनु नसक्ने पोखरेलले बताए । विकासका लागि आशा जाग्नैपर्ने र नागरिकमा आशा जगाउनुपर्ने पोखरेलले स्पष्ट पारे । ‘कुनै पनि देशको विकास र समृद्धि निराशामा हुनै सक्दैन,’ उनले भने ।

देशमा केही पनि भएन भन्नेहरूले यो बीचमा भएका विकासका काम हेर्न उनले आग्रह गरे । भएका कुराको समेत चर्चा गर्न नसक्दा अराजकतावादीहरू हाबी भएका उनले बताए । ‘हामी भएका कुराको पनि चर्चा गर्न नसक्ने भयौं,’ पोखरेलले भने ।

मुलुक बनाउनका लागि सकारात्मक कुरा जनताको बीचमा लैजानुपर्नेमा उनले जोड दिए । नकारात्मक कुराले मुलुकलाई उधोगतिमा लैजान पोखरेलको भनाइ छ ।