राष्ट्रियसभा अध्यक्ष दाहाल र स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकबिच द्विपक्षीय भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष दाहाल र स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकबिच द्विपक्षीय भेटवार्ता


जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले स्वीजरल्याण्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमर सँग द्विपक्षीय भेटवार्ता गरेका छन् । अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका अध्यक्ष दाहालले स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगकासाथै नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको सहयोगका बारेमा छलफल भएको थियो।

सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्वीस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरे।

संयुक्त राष्ट्रसंघ, आइपीयू लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र स्वीजरल्याण्डले आपसी सहयोग र सहकार्य गर्दै आइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि दुई देशबिचको पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्याण्डसँग काम गर्न नेपाल सधैं तयार रहेको बताए।

प्रत्यक्ष लोकतन्त्र र संघीयताको अभ्यासमा स्वीट्जरल्याण्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै अध्यक्ष दाहालले भने, “संघीयगणतन्त्रको रुपमा भर्खरै अभ्यास गरिरहेको नेपालले स्वीट्जरल्याण्डका असल अभ्यासबुझ्न र सिक्नप्रयासरत छ। हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौं।” राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको भन्दै उनले संघीय संसद र प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताए।

सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्वपीडितलाई न्याय र क्षतिपूर्ति दिन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष दाहालले संघीय संसदका दुवै सदनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको जानकारी दिए। “शान्ति प्रक्रियाका बाँकी काम पूरा गरिहामी दिगो शान्ति, स्थायित्व र विकासको लक्ष्यतर्फ अघि बढेका छौं,”अध्यक्ष दाहालले भने, “नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन स्वीस सरकारको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौं।”
संघीय संसदले नेपाल–स्वीट्जरल्याण्ड संसदीय मैत्री समूह गठन गरेको जानकारी दिदै अध्यक्ष दाहाललेमैत्री समूहले दुई देशका संसदीय अनुभव,अभ्यास, सहकार्य र आपसी सहयोगका लागि संवादको ढोका खोलेको बताए।

स्वीट्जरल्याण्ड नेपालको एक प्रमुख विकास साझेदार भएको बताउँदै अध्यक्ष दाहालले भने, “स्वीस सरकारले प्रदान गर्दै आएको विकास सहयोगमा नेपाललाई प्राथमिकतामा राखी निरन्तरता दिनुभएकोमा म स्वीसजनता र सरकारलाई हार्दिक धन्यवादव्यक्त गर्दछु। स्वीस विकास सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।”

भेटमा स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरले दुई देशको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आइपीयूको महासभाका सन्दर्भमा नेपाली समकक्षीलाई स्वीजरल्याण्डमा भेट्दा आफूलाई खुसी लागेको बताए।

नेपालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कानुन पारित गरेकोमा बधाई दिदै अध्यक्ष नसबाउमरले कानुन कार्यान्वयनमा लैजानका निम्ति आफूहरुले आवश्यक सहयोग गर्न तयार रहेको बताए। “शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक कानुन पारित गरेकोमा बधाई दिन चाहन्छु,” अध्यक्ष नसबाउमरले भने, “कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोगका लागि हामी तयार छौं।”

नेपालले नयाँ संविधानमार्फत् संघीय शासन प्रणाली अवलम्बन गरेकोमा खुसी व्यक्त गर्दै उनले संघीयताको कार्यान्वयनमा पनि स्वीस सरकारको सहयोग हुने बताए। नेपाल पर्यटकीय रुपमा निकै सम्भावनायुक्त देश भएको चर्चा गर्दै अध्यक्ष नसबाउमरले नेपालको पर्यटन प्रवर्द्धन र हवाइ सेवाको गुणस्तर एवं विकासमा स्वीस सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। सो अवसरमा अध्यक्ष नसबाउमरले आफूले नेपालको भ्रमण गर्न चाहेको पनि बताए।