विदेशी सहयोगमा अनियमितता गर्ने शेखलाई ‘कतार च्यारेटी’ले गर्‍यो निलम्बन

विदेशी सहयोगमा अनियमितता गर्ने शेखलाई ‘कतार च्यारेटी’ले गर्‍यो निलम्बन


काठमाण्डु – मुख्यगरी नेपालका मुस्लिम समुदायहरूलाई सहयोग गर्दै आइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ‘कतार च्यारेटी’को नेपाल कार्यालयमा प्रोग्राम म्यानेजर (कार्यक्रम संयोजक) पदमा कार्यरत इर्शाद अली शेख आर्थिक हिनामिना गरेको आरोपमा निलम्बनमा परेका छन् ।

शेखले आर्थिक अनियमितता गरेको व्यापक उजुरी परेपछि कतार च्यारेटीको केन्द्रीय कार्यालय दोहा कतारबाट आएको छानबिन टोलीले छानबिन गर्दा प्रारम्भिक रूपमा अनियमितता गरेको देखिएपछि २७ जुलाई २०२४ बाट निलम्बनमा राखिएको नेपालस्थित कार्यालयले सहकार्य गर्ने संस्थाहरूलाई जानकारीका लागि पठाएको हामीलाई प्राप्त पत्रमा उल्लेख छ । च्यारेटीको नेपालस्थित कार्यालयका प्रमुख मोहम्मद इक्वासले सकार्य गर्ने संस्थाहरूलाई पठाएको पत्रमा नयाँ प्रोग्राम म्यानेजरमा मोहम्मद जाहिद खानलाई नियुक्त गरिएको पनि उल्लेख छ ।

शेखसँगै नेपाल कार्यालयमा प्रोगाम अफिसर (कार्यक्रम अधिकृत)मा काम गर्ने गणेश महर्जनलाई पनि केन्द्रीय कार्यालय दोहाबाट आएको छानबिन टोलीले निलम्बन गरेको छ । नेपाल कार्यालयमै काम गर्ने एक इञ्जिनियरले पनि सोही घटनामा मुछिने निश्चित भएपछि जागिरबाटै राजीनामा दिएका कार्यालयले जनाएको छ ।

पाल्पा जिल्लाको रामपुर घर भएका शेख कतार च्यारेटीले सन २०१७ मा नेपालमा कार्यालय खोल्दा देखि नै कार्यरत थिए ।

च्यारेटी कार्यालय निकट स्रोतका अनुसार शेखले नेपाल कार्यालयमा आउने कन्ट्री डाइरेक्टरलाई नेपालको संविधान, कानुन र नियमको त्रास देखाएर स्वतन्त्रतापूर्वक संस्थाको नियमानुसार काम गर्न बाधा पु¥याउने काम गर्दै आएका थिए ।

पहिलो चरणका कन्ट्री डाइरेक्टरले उनीहरूका गतिविधिबारे चासो नदिए पनि पछिल्लो पटक आएएका डाइरेक्टरहरूले सुक्ष्म तरिकाले अध्ययन गरेर समाज कल्याण परिषद्मा सम्पर्क गरेर कानुन र नियमबारे बुझेपछि शेखको नेतृत्वमा भइरहेको बदमासी पत्ता लागेको हो । बदमासी पत्ता लागेपछि प्रारम्भिक छानबिन पश्चात शेखलाई निलम्बनमा राखिएको च्यारेटीको नेपाल कार्यालयको पत्रमा उल्लेख छ ।

आर्थिक अनियमिततामा नेपाललाई सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्थाको नेपालस्थित कार्यालयको उपल्लो तहको कर्मचारी परेपछि दातृ निकायहरू सहयोगबारे अब कसरी अगाडि बढाउने भनेर नयाँ रणनीति बनाउँदै छन् । तर, शेखले भने अर्को नेपालको मुस्लिमहरूलाई सहयोग गरिरहेको अन्तराष्ट्रिय गैरसरकारी संस्थाका एक कर्मचारीमार्फत निलम्बन फुकाउनका लागि समाज कल्याण परिषद्मार्फत दबाब दिइरहेका निकट स्रोतले बतायो ।

क्यानडामा केन्द्रीय कार्यालय रहेको ‘ईश्लामिक रिलिफ’को नेपालस्थित कार्यालयमा ‘प्रोग्राम एडभाइजर’ (कार्यक्रम सल्लाहकार) पदमा कार्यरत लक्ष्मीराज जोशीमार्फत निलम्बन फुकाउन शेखले परिषद्मा दबाब दिइरहेका छन् । परिषद्मा सदस्यसचिव मनोज भट्टको पावर देखाए जोशीले ‘कतार च्यारेटी’को नेपालस्थित कार्यालयलाई निलम्बन फुकाउन दबाब दिएका निकटस्थ स्रोतले जानकारी दियो । जोशी र भट्ट दुबै सुदूरपश्चिमका हुन् ।

भेगीय नाताले परिषद्मार्फत अफ्ट्यारो पर्ने भन्दै जोशीले दबाब दिए पनि ‘कतार च्यारेटी’का कर्मचारीले परिषद्मा बुझ्दा परिषद्ले भने अन्तर्राष्ट्रिय संस्था आफ्नो नीति तथा कार्यक्रम गर्न स्वतन्त्र रहेको प्रतिक्रिया दिएको बताइन्छ । परिषद्सँग गरिएको एग्रिमेन्टमा तलमाथि भएमा आफूहरूले अनुसन्धान गर्ने तर आन्तरिक रूपमा सुशासनमा तलमाथि गर्ने कर्मचारीलाई कारबाही गर्दा के गरेको भन्न नसिकने जवाफ परिषद्ले दिएको निकटस्थ स्रोतले बतायो ।

परिषद्का सूचना अधिकारीलाई यसबारे बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।