सेनामा २४ भदौदेखि एक रथी पद खाली, अर्का विदेशमा

सेनामा २४ भदौदेखि एक रथी पद खाली, अर्का विदेशमा


काठमाण्डु – नेपाली सेनामा एक रथीको पद रिक्त छ । रथी रहेका अशोक सिग्देल २४ भदौमा प्रधानसेनापतिमा बढुवा भएपछि रिक्त भएको रथी पदमा अहिलेसम्म बढुवा हुन सकेको छैन ।

अर्का एक रथी निर्मल थापा भने शान्ति मिसनका लागि विदेशमा छन् । अहिलेसम्म सेनामा रथी खाली राख्ने प्रचलन नभए पनि अहिले लामो समयसम्म रथी पद रिक्त राखिएको हो । सेना निकट स्रोतका अनुसार एक महिनाभन्दा लामो समय रथी पद रिक्त रहेको सम्भवतः पहिलो घटना हो ।

रथीमा बढुवा उपरथीबाट गरिन्छ । उपरथीहरूमध्ये अहिले सबैभन्दा सिनियर बाबुराम श्रेष्ठ छन् । उनलाई आन्तरिक छानबिनमा रहेको भन्दै बढुवाका लागि सिफारिस गरिएको छैन । श्रेष्ठमाथि के विषयमा छानबिन भइरहेको हो भन्ने खुलाइएको छैन ।

उपरथीहरूमा दोस्रो वरियतामा प्रदीपजंग केसी रहेका छन् । उनी पनि रथीका लागि दाबेदार हुन् । निकटस्थ स्रोतका अनुसार श्रेष्ठ आन्तरिक छानबिन रहेकाले बढुवा गर्न अफ्ट्यारो हुने र पहिलो वरियताको व्यक्ति हुँदाहुँदै दोस्रो वरियताका केसीलाई बढुवा सिफारिस गर्दा ‘सिस्टम’ बिग्रिने डरले सेनाले रथी बढुवा सिफारिसमा ढिलाइ गरेको हो ।