नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितहरूलाई राहत सामग्री वितरण

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितहरूलाई राहत सामग्री वितरण


काठमाण्डु – जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरेको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढीपीडितलाई (४५ घर परिवार) चामल, दाल, नून, तेल र साबुन प्रदान गरिएको छ । प्रतिपरिवार ३० किलो चामल, दाल र नून २/२ किलो, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको छ ।

असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा ३ घर पूर्णरूपमा क्षति भएको हुँदा कम्पनीले प्रतिघरपरिवार ३ बण्डल जस्तापाता र १ थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरेको छ ।

यसैगरी, झ्याप्ले खोलामा आएको बाढीका कारण ३० घरपरिवार विस्थापित हुन पुगेकोमा खाद्यान्न वितरण गरिएको छ । गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको बताए । प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको उनले बताए । कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरीब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए ।