प्रहरी र सशस्त्रको नयाँ कानून बनाउने काम प्राथमिकतामा छ : गृहमन्त्री लेखक

प्रहरी र सशस्त्रको नयाँ कानून बनाउने काम प्राथमिकतामा छ : गृहमन्त्री लेखक


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानून संशोधन गरेर नयाँ कानून बनाउने कामलाई प्राथमिकता दिएको बताएका छन् ।

बुधबार ६९औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले दुवै प्रहरी संगठनका लागि आवश्यक कानून निर्माणमा सरकारले प्राथमिकता दिएको बताए ।

‘म यहाँहरूलाई विश्वास दिलाउन सक्छु, संघीय संसद्को आगामी अधिवेशनबाट यी दुवै सुरक्षा फौजका निमित्त नयाँ कानून निर्माण गरेर समसामयिक कानून प्रचलनमा ल्याइनेछ,’ उनले भने ।

नयाँ कानून प्रचलनमा आएपछि हित, वृत्ति विकास हुने मन्त्री लेखकले बताए । आगामी दिनमा सुरक्षा संगठनहरूलाई थप सशक्त बनाउन सरकारले गर्न सक्ने सबै उपायहरू अवलम्बन गर्ने उनले बताए ।