पाटन प्रिमियर लिगको उद्घाटन खेलमा सहस्त्रलिङ्ग क्लब विजयी

पाटन प्रिमियर लिगको उद्घाटन खेलमा सहस्त्रलिङ्ग क्लब विजयी


पाटन – बैतडीको पाटनमा बुधबारदेखि सुरु भएको चौथो संस्करणको पाटन प्रिमियर लिगको उद्घाटन खेलमा सहस्त्रलिङ्ग क्रिकेट क्लबले जितेको छ ।

ऐतिहासिक जीत दर्ता गर्ने क्रममा सहस्त्रलिङ्गले खोड्पे स्पोर्ट्स क्लबमाथि ३२२ रनको विशाल अन्तरले पराजित गरेको छ ।

सहस्त्रलिङ्गले दिएको ३६० रनको लक्ष्य पछ्याउने क्रममा खोड्पे ७ ओभर १ बलमा ३७ रनमा अलआउट भयो । खोड्पेका सितोस विष्टले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सहस्त्रलिङ्गका ललित मौनी र किशोर विकले ३/३ विकेट लिए ।

यसअघि श्रीकृष्ण मावि पाटनको खेल मैदानमा पहिले ब्याटिङ गरेको सहस्त्रलिङ्गले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ३५९ रन बनायो ।

दुवै जना ब्याटस् म्यानले शतक र १ जनाले अर्धशतक पनि हिर्काए । सहस्त्रलिङ्ग एकै पारीमा २ शतक र १ अर्धशतक हिर्काउने कीर्तिमानी टीम समेत बनेको छ । ठूलो रनअन्तरले जित्ने टोलीको कीर्तिमान समेत टीमले बनाएको छ ।

प्रतियोगिताको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका थिए । पाटन क्रिकेट क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

म्यान अफ द सिरिजलाई १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बेस्ट बलर र ब्याट्सम्यान दुवै जनालाई जनही ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।