नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई नेपाली टोलीको मेन्टर नियुक्त गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत कात्तिक ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने त्रिकोणात्मक शृंखलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

शृंखलाका लागि पूर्व प्रशिक्षक दासानायकेलाई मेन्टरको भूमिका निर्वाह गर्ने गरी मनोनयन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

पूर्व प्रशिक्षक दासानायकेले प्रतियोगिता अवधिभर नेपाली टोलीको मेन्टरको भूमिका निर्वाह गर्नेछन् । शृंखलामा नेपालले पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ ।

नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग खेल्नेछ भने तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

चौथो तथा अन्तिम खेलमा नेपालले कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोली जनकपुर बोल्ट्सले दासानायकेलाई केही दिनअघि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । लिग–२ को शृंखला सकिएपछि दासानायके नेपाल प्रिमियर लिगका लागि नेपाल आउने बताइएको छ ।