आफूलाई पक्राउ गर्ने सूचना पाएको भन्दै रवि लामिछानेले मागे विपक्षी दलहरूको साथ

आफूलाई पक्राउ गर्ने सूचना पाएको भन्दै रवि लामिछानेले मागे विपक्षी दलहरूको साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहरीले पक्राउ गर्ने सूचना पाएको बताएका छन् । शुक्रबार बिहान नयाँ वानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूलाई सरकारले फसाउने नियत लिएको बताए ।

‘मलाई पक्राउ गर्न सक्छ भन्ने संकेत मैले पनि पाएको छु,’ लामिछानेले बैठकमा भनेका थिए ।

उनले विपक्षी दलहरूको साथ पनि मागेका छन् । ‘सरकारले फसाउने नियत लियो । मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ । मलाई जस्तै समस्या भोलि जोसुकैलाई आइपर्न सक्छ । सबैले साथ दिन प¥यो,’ लामिछानेले बैठकमा भनेका थिए ।

विपक्षी दलहरूको बैठक आह्वान गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले लामिछानेलाई पक्राउ गर्ने सूचना आफूले पाएको बताएपछि लामिछानेले पनि आफूलाई पक्राउ गर्ने सूचना पाएको बैठकमा बताएका थिए । बिहीबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा आफूले लामिछानेलाई पक्राउ गर्ने संकेत पाएको दाहालले बैठकमा बताएका थिए ।

त्यसपछि लामिछानेले दाहाल र आफ्नो सूचना मिलेको भन्दै विपक्षीहरुको साथ मागेका थिए । तर बैठकमा यसबारे कुनै निष्कर्ष निकालिएन ।

विपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी बैठकमा लामिछानेले आफ्नो पक्राउविरुद्ध ती दलहरूको साथ खोजेपछि कसैले यसबारे निष्कर्ष निकाल्नुपर्छ भनेर नबोलेपछि बैठक यो विषयमा त्यत्तिकै सकिएको थियो । रविको पक्राउबारे दाहालबाहेक अन्य कुनै नेता नबोलेका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकपछि माओवादी उपमहासचिव शक्ति बस्नेतले रविलाई पक्राउ गर्दा आफूहरूको कुनै आपत्ति नरहेको तर, नियोजित रूपमा कसैले कसैलाई फसाउन नहुने प्रतिक्रिया दिएका थिए ।

सहकारी संस्थाको बचत अपचलनमा रास्वपाका सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो।

पक्राउ पर्ने चर्चाबीच लामिछानेले विपक्षी दलहरूको बैठकबाट बाहिरिँदा आफ्नो गाडी नचढेर पार्टी उपसभापति डीपी अर्यालको गाडी प्रयोग गरेका छन् । त्यही गाडीबाट उनी पार्टी कार्यालय वनस्थली पुगेका छन् ।