पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनाशकारी भूकम्पपछिको ठूलो विपद्को घटनाका रूपमा लिँदै राहत वितरण र पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औं बैठकमा परिषद्का अध्यक्ष ओलीले घटनाबाट दिवंगतहरूमा श्रद्धाञ्जलि व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनर्निर्माणका लागि गम्भीरताका साथ काम भइरहेको बताए ।

‘अहिलेको परिस्थितिमा के गर्नुपर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयतात्मक रूपमा काम गर्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘कसरी जनतालाई छिटोभन्दा छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ । हुन त समाजमा कुरा काट्ने प्रवृत्ति पनि छ तर हामीले त्यसको पर्वाह नगरी सहयोगको प्रवृत्ति बढाएर विपत्तिको मिलेर सामना गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरू रोकिएको स्थितिमा दशैंअगावै सम्पूर्ण प्रयासहरू गरेर नाकाहरू खुलाइएकोमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रेस विज्ञप्तिमार्फत बैठकका निर्णयहरू सार्वजनिक गर्नेछ ।