बेलबारी गोल्डकप फूटबलको उद्घाटन खेलमा झापा विजयी

बेलबारी गोल्डकप फूटबलको उद्घाटन खेलमा झापा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलबारी – मोरङमा शुक्रबारदेखि सुरु भएको सातौं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फूटबलको उद्घाटन खेलमा झापा–११ फूटबल क्लब विजयी भएको छ ।

बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको खेलमा झापा–११ ले भारतको कञ्चनजंघा फूटबल क्लब सिलिगुडीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा भारतको सिलिगुडीले गोल गरेको थियो । उसका लागि प्रनेश प्रधानले सान्त्वना गोल गरेका थिए । खेलको पहिलो हाफको ३५औं मिनेटमा झापाका निरज कार्कीले आफ्नो टोलीका लागि पहिलो गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्‍याएका थिए ।

खेलको दोस्रो हाफमा झापा–११ ले थप ४ गोल गरेको थियो । खेलको ५५औं मिनेटमा झापा–११ का अभिषेक गुरुङले गोल गरेका थिए । लगत्तै ५९औं मिनेटमा झापा–११ का उत्सव राईले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्‍याए । उनले नै खेलको ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ४–१ को अग्रता दिलाए ।

खेलको ७७औं मिनेटमा झापा–११ का निकेश श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । शुक्रबारको खेलको म्यान अफ दी म्याच झापा–११ का उत्सव राई घोषित भए । एलएक्स सिटी फूटबल क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता कात्तिक १० गतेसम्म चल्नेछ । प्रतियोगितामा आयोजकसहित १० टोली सहभागी रहेका आयोजक समितिका अध्यक्ष विक्रम वान्तवा राईले बताए ।

शनिबार आयोजक एलएक्स सिटी फूटबल क्लब र चित्लाङ फूटबल क्लब काठमाण्डुबीच खेल हुनेछ ।

बेलबारी नगरपालिका र अखिल नेपाल फूटबल संघ (एन्फा) र आरजु राइस मिलले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ८ लाख र उपविजेताले ४ लाख पुरस्कार प्राप्त गर्नेछन् ।