रामेछाप र सिन्धुली जोडने खुर्कोटको बेलिब्रिज पुल पाँचदिन भित्रै सञ्चालनमा आउने

रामेछाप र सिन्धुली जोडने खुर्कोटको बेलिब्रिज पुल पाँचदिन भित्रै सञ्चालनमा आउने


काठमाण्डु-रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रूपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रूपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको छ ।

असोजको दोस्रो हप्ता परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा पुल (रामेछापतर्फको) बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौंसम्मकोे छोटो दूरीको सडकमार्गको सञ्जाल टुटेको थियो ।

केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्नेगरी तीव्र गतिमा काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

रामेछाप नगरपालिकाका प्रवक्ता एवं सुकाजोरका वडाध्यक्ष समीर कार्कीले पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको बताए । हाल पुलको पाता विछ्याउने र लेवल मिलाउनेलगायत अन्य काम भइरहेका छन् ।

पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थलीतर्फको करिब दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म निर्वाध रुपमा दुईतर्फी सवारी आवागमन गर्न सक्ने अवस्था छैन । एकतर्फी रुपमा भने सावधानीपूर्वक सञ्चालन गर्न सकिने स्थानीय पशुपति न्यौपानेले बताए ।

खुर्कोटको पुल बगाएपछि रामेछाप र दोलखावासीलाई तराईका विभिन्न भागमा आवतजावत गर्नका र खाद्यान्न ढुवानी गर्नका लागि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने सित्खाको पुलमार्फत वैकल्पिक सडकमार्ग प्रयोगगरी आवतजावत गर्ने व्यवस्था मिलाइएको भए पनि उक्त बाटोमार्फत ल्याइएका खाद्यान्न सामग्री महँगिएको थियो ।

यसअघि विपी राजमार्ग सञ्चालन हुनुपूर्व रामेछापको सदरमुकाम मन्थलीलगायत आसपासका क्षेत्रबाट मानिसले काठमाडौं आवतजावत गर्न मन्थलीबाट चरिकोट–मुडे हुँदै धुलिखेलको वैकल्पिक बाटो प्रयोग गर्दै आइरहेका थिए । नेपाली सेनाका अनुसार अबको तीनदेखि पाँच दिनभित्रबाट मात्र पुलबाट सवारी अवागमन गराउन सकिन्छ ।