नयाँ राजनीतिक दल आएपछि आत्तिएका गगन थापा ओलीको सङ्गतमा मात्तिए : मनिष झा

नयाँ राजनीतिक दल आएपछि आत्तिएका गगन थापा ओलीको सङ्गतमा मात्तिए : मनिष झा


काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएका छन् ।

शनिबार पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै झाले सरकारले सहकारीको समस्या समाधान गर्न नखोजी आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्ने काम गरेको बताएका हुन् ।

झाले नयाँ राजनीतिक दलप्रति पुराना राजनीतिक दलको आचरण कस्तो छ भन्ने कुरामा उनीहरू नाङ्गिएको बताएका छन् । उनले कांग्रेस महामन्त्री गगन थापा पनि नाङ्गिएको बताए ।

उनले भने ‘यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, एउटा नयाँ दल केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्ने मान्छे आउने चाहना गर्दै गर्दा उ आत्तियो र ओलीको सङ्गतमा मात्तियो । तिमीलाई धन्यवाद छ गगन थापा तिमी पनि नाङ्गियौँ ।’

संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्बको अपचलन भएको देखाएको बताउँदै त्यसमा जीवी राईले ६ अर्ब रुपैयाँ लिएको र गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ गएको देखाएको र रवि लामिछानेको आफ्नो कार्यकाल अवधिमा ३ करोड खर्च गरेको आरोप लगाएको बताए । रास्वपाले ८७ अर्बको कुरा गर्न सरकारलाई भनेको तर सरकार ३ करोडमा अड्किएको बताए ।

सहकारी समस्यालाई सरकारले समग्रमा हेर्नुपर्ने भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सहयोग गर्न तयार रहेको बताए ।