डिवाईएस वडाध्यक्ष कप क्रिकेट कपको उपाधि शुक्लाफाँटालाई

डिवाईएस वडाध्यक्ष कप क्रिकेट कपको उपाधि शुक्लाफाँटालाई


महेन्द्रनगर – कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलिमा आयोजित प्रथम डिवाईएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका–७ ले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा आयोजक देखतभूलि युवा समाजलाई पराजित गर्दै शुक्लाफाँटाले उपाधि जितेको छ ।

५७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको देखतभूलिलाई शुक्लाफाँटाले ७ ओभरमा अलआउट गरेर नतिजा आफ्नो पक्षमा पारेको छ । उपाधि विजेता शुक्लाफाँटाले ५१ हजार १५१ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको देखतभूलिले २५ हजार ५०५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

विजेता र उपविजेतालाई एमालेबाट प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, वडाध्यक्ष पहलबहादुर थापा र कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्काले पुरस्कार प्रदान गरेका छन् ।

समापन समारोहमा बोल्दै कञ्चनपुर–१ बाट निर्वाचित सांसद लामाले ग्रामीण क्षेत्रमा क्रिकेट, फूटबल, भलिबल लगायत खेललाई माथि उकास्न यस्ता प्रतियोगिताले मद्दत पुग्ने बताए । ‘गाउँघरमा हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी जन्माउँछ, कञ्चनपुरको दक्षिणी क्षेत्र आफैंमा खेलकुदको उर्वर भूमि हो,’ सांसद लामाले भने, ‘खेलकुदमा पर्याप्त बजेट विनियोजनका लागि जनप्रतिनिधिका हिसाबमा सरकारसँग मेरो लबिङ हुनेछ ।’

लालझाडी गाउँपालिका–५ वडासँगको सहकार्यमा देखतभूलि युवा समाजले आयोजना गरेको प्रतियोगितामा १४ टीमको सहभागिता थियो । समाजका अध्यक्ष प्रेमसिंह धामीले पछिल्लोपटक नेपाली क्रिकेट टीमको प्रदर्शन उत्कृष्ट रहेका बेला गाउँघरमा पनि क्रेज बढेकाले नयाँ खेलाडी उत्पादनमा सहयोग होस् भनेर प्रतियोगिता आयोजना गरिएको बताए ।