भूमि सम्बन्धी समस्या समाधान गर्न कात्तिकभित्रै आयोग गठन हुन्छ : मन्त्री अधिकारी

भूमि सम्बन्धी समस्या समाधान गर्न कात्तिकभित्रै आयोग गठन हुन्छ : मन्त्री अधिकारी


नुवाकोट – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् ।

नेकपा एमाले नुवाकोटले शनिबार विदुरमा आयोजना गरेको अन्तर्क्रिया तथा भेटघाटमा उनले आयोगलाई अधिकारसम्पन्न बनाई कात्तिकभित्रै गठन गर्ने तयारी भइरहेको बताए ।

‘विगतका आयोगले काम नगरेको गुनासो धेरै छन् । त्यसमा केही यथार्थ पनि छ । भूमि सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार आयोग बनाउन अझै केही कानूनी समस्या छन् तर दलीय र सरकारको सहमतिमा सकेसम्म सबै समस्या समाधान गर्नसक्ने गरेर अधिकार सम्पन्न आयोग गठन हुनेछ । आयोगले गर्ने काममा कानूनी प्रश्न उठ्न नदिन भूमि ऐन, नापी ऐनसहित यससँग सम्बन्धित कानुन निर्माण तथा सुधारमा मन्त्रालय लागिरहेको छ,’ मन्त्री अधिकारीले भने ।

अब बन्ने आयोगले विगतका आयोगले गरेका कार्यको दायित्व ग्रहण भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानमा केन्द्रित हुने उल्लेख गर्दै उनले बिर्ता र गुठी समस्या समाधानका लागि क्रमशः कानून निर्माण गरेर अगाडि बढ्ने सरकारको लक्ष्य रहेको बताए ।