गढीमाई मेलामा खानेपानी अभाव हुँदैन : मन्त्री यादव

गढीमाई मेलामा खानेपानी अभाव हुँदैन : मन्त्री यादव


बारा – खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानीे अभाव नहुने स्पष्ट पारेका छन् ।

गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए ।

मन्त्री यादवले ‘ओभरहेड ट्यांकी’बाट कथम्कदाचित पानीको अपुग हुने अवस्थालाई दृष्टिगत गर्दै ठाउँठाउँमा डिप बोरिङको समेत प्रबन्ध गर्ने र यसै साताभित्र केही थान घुम्ती शौचालय मेला व्यवस्थापन समितिलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘कुनै प्रकारले शुद्ध खानेपानीको कमी हुन नदिनका लागि प्रदेश सरकार, दातृ तथा सहयोगी संस्थाहरूसँग मेलामा छलफल भइरहेको छ । पानीको निकासका लागि ढल निकास तथा नाला निर्माण, पाइप जडानको काम पनि चाँडै नै सुरु गर्छौं,’ उनले भने ।

मन्त्री यादवले मेलाका लागि सरकारको पूर्ण सहयोग रहने बताए । उनले भने, ‘सहयोग गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मेला समितिका पदाधिकारी तथा गढीमाई नगरपालिका प्रमुखलाई सन्देश दिन मलाई निर्देशन दिइसक्नुभएको छ ।’

मन्त्री यादवले मेलाको सफलताका लागि स्थानीय नागरिकले विगत वर्षदेखि नै सम्पूर्ण रूपमा सहयोग गर्दै आएकामा प्रशंसा गरे ।

कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद किसान श्रेष्ठले मेला सफल बनाउन सबैलाई आग्रह गरे । उनले हिन्दूहरूको आस्थामाथि खेलबाड गर्ने, मेलालाई कुनै प्रकारले भाँड्न खोज्नेहरूलाई कानूनको दायरामा ल्याउन शान्ति सुव्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिए ।

मेला समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु, मेला व्यवस्थापन समितिका उपाध्यक्ष रामचन्द्र साह, महासचिव वीरेन्द्र यादव लगायत उपस्थित थिए ।