ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई आजदेखि ‘डिजिटल चिट’ दिइने

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई आजदेखि ‘डिजिटल चिट’ दिइने


काठमाण्डु-उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने गाडी चालकलाई आजदेखि डिजिटल चिट दिइने भएको छ ।

यसअघि कागजको चिट काटेपछि भुक्तानीका लागि अरू प्रक्रियामा जानुपर्ने अवस्था रहेकोमा अब ट्राफिक प्रहरीले ‘डिजिटल चिट’ दिने र जरीमाना अनलाइनमार्फत त्यहीँ भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको हो ।

नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै जरीमाना तिर्दा हुँदै आएको झन्झट अन्त्य हुने प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए ।

यस्तै चालक अनुमतिका लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ । यसबाट लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ ।

यस्तै नागरिक एप चलाउनेले अबदेखि लाइसेन्स बोक्नुपर्ने छैन । नागरिक एपमा रहने चालक अनुमतिपत्रमा क्यूआर कोड देखाउने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरीले इचलान डिजिटल एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने क्यूआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसूर र जरीमाना रकमसहितको ‘डिजिटल चिट’ को विवरण र जरीमाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था छ । यसबाट चालकले तत्कालै डिजिटल वालेटमार्फत् जरीमाना रकम भुक्तानी गर्न सक्नेछन् ।

प्रहरी नायब महानिरीक्षक बोहराका अनुसार पहिलो चरणमा काठमाडांै, भक्तपुर र ललितपुर जिल्लामा ‘डिजिटल चिट’ व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । ‘डिजिटल चिट’ काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै उपकरण उपलब्ध गराइएको छ ।