न्युजिल्यान्डले पहिलो पटक जित्यो महिला टी–२० विश्वकपको उपाधि

न्युजिल्यान्डले पहिलो पटक जित्यो महिला टी–२० विश्वकपको उपाधि


काठमाण्डु-दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हरायो । न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाइन् । न्युजिल्यान्डकी रोसमेरी मेयर र अमिला केरले समान ३ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो ।

महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ । अस्ट्रेलिया सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० र २०२३ को विजेता हो । यस्तै इङ्गल्यान्ड पहिलो संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ को विजेता हो । दक्षिण अफ्रिका फेरि पनि उपविजेता बनेको छ । दक्षिण अफ्रिका सन् २०२३ मा पनि उपविजेता बनेको थियो ।