नेतृत्वविहीन हमास ! अब कसले सम्हाल्छ आतंककारी संगठनको बागडोर ?

नेतृत्वविहीन हमास ! अब कसले सम्हाल्छ आतंककारी संगठनको बागडोर ?

एकपछि अर्को नेता मारिए पछि हमासलाई कसले चलाउने ?


काठमाण्डु – इजरायली आक्रमणमा परी प्यालेस्टिनी समूह हमासका नेताहरू एकपछि अर्को मारिएपछि अब हमासको नेतृत्व कसले गर्ला भन्ने चासो बढेको छ ।

हमासका २ जना अधिकारीहरू गत बिहीवार भएको इजरायली आक्रमणमा मारिएका छन् । गत हप्ता नेता याह्या सिन्वारको हत्या भएपछि हमास नेतृत्वविहीन भएको छ ।

इजरायलद्वारा सबैभन्दा बढ्ता खोजिएका व्यक्तिका रूपमा रहेका सिन्वार मारिएपछि हमासको नेतृत्व गर्ने व्यक्तिको चयनका लागि हमासका नेताहरू जुट्न लागेका छन् ।

अहिले सबैभन्दा बलियो उम्मेदवारका रूपमा गाजाबाहिर रहेका हमासका सबैभन्दा वरिष्ठ अधिकारी एवं सिन्वारका उपनेताका रूपमा काम गरेका खलिल अल–हायालाई हेरिएको छ ।

कतारमा बस्ने अल–हायाले हाल हमास र इजरायल बीचको युद्धविराम वार्तामा आफ्नो समूहको नेतृत्व गर्दै आएका छन् । उनीसँग गाजाको अवस्थाबारे राम्रो ज्ञान, सम्बन्ध र बुझाइ छ ।

३१ जुलाइमा इरानको राजधानी तेहरानमा पूर्व नेता इस्माइल हानिया मारिएपछि सिन्वार हमासका नेता बनेका थिए र उनी पनि मारिएपछि २ महिनामै नयाँ नेता चयन गर्नुपर्ने अवस्था बनेको छ ।

सिन्वारको हत्या हमासका लागि दशकौंमा भएको निकै उल्लेख्य क्षति हो । यद्यपि उनको ठाउँमा ल्याउने व्यक्तिको चुनौती रहँदा–रहँदै पनि सन् १९९० को दशकयता नै नेतृत्वको क्षति व्यहोर्दै आएको इतिहास हमाससँग छ ।

हमासका एक वरिष्ठ अधिकारीले सिन्वारलाई गत वर्षको ‘अक्टोबर ७’ हमलाको योजनाकार बताउँदै उनको नियुक्तिलाई इजरायलविरुद्ध अवज्ञाको एउटा कडा सन्देशको रूपमा प्रस्तुत गरेको बताएका थिए ।

जुलाइयता युद्धविराम सम्बन्धी वार्ता अवरुद्ध छन् र धेरैले सिन्वारको नेतृत्व कुनै युद्धविराम सम्झौताका लागि अवरोधका रूपमा रहेको विश्वास गरेका थिए ।

गाजाबाट पूर्ण रूपमा इजरायल फिर्ता हुनुपर्ने, लडाइँको अन्त्य हुनुपर्ने, मानवीय सहायता पठाइनुपर्ने र युद्धले क्षति पुर्‍याएका क्षेत्रको पुनर्निर्माण हुनुपर्ने आफ्नो मागमा हमास अडिग छ ।

इजरायलले हमासले आत्मसमर्पण गर्नुपर्नेमा जोड दिँदै ती शर्तलाई प्रस्ट रूपमा अस्वीकार गरेको छ । इजरायल अधिकांश हमास नेता र संस्थापकहरूको हत्या गर्न सफल हुँदै आए पनि हमास भने नयाँ नेता चयन गर्न सक्षम हुँदै आएको छ ।

हमास के हो ?

प्यालेस्टाइनको सुन्नी–इस्लामिक उग्रवादी समूह हमास गाजा क्षेत्रबाट सञ्चालित छ । सन् २००७ देखि गाजामा शासन गरिरहेको यो समूहले इजरायललाई बर्बाद गर्ने कसम खाएको छ । त्यो बेलादेखि अहिलेसम्म यो उग्रवादी गुटले इजरायलमाथि धेरैपल्ट आक्रमण गरिसकेको छ । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि भीषण आक्रमण गरेको थियो । सन् १९८७ मा हमासको स्थापना भएको थियो ।

हमासलाई इजरायलसँगै अमेरिका, युरोपेली संघ, बेलायत र अन्य ठूला देशले आतंकवादी संगठन घोषित गरेका छन् । छिमेकी इरान हमासको सबैभन्दा ठूलो समर्थक हो । इरानले हमासलाई आर्थिकसँगै हतियार तथा तालिमजस्ता सुविधा उपलब्ध गराउँछ ।

गाजा क्षेत्र के हो ?

इजरायल, इजिप्ट र भूमध्यसागर बीचको भाग गाजा क्षेत्र हो । यो ४१ किलोमिटर लामो र १० किलोमिटर चौडा क्षेत्र हो । यहाँ करीब २३ लाख मानिस बस्छन् । यो संसारको सबैभन्दा घना जनसंख्या भएको क्षेत्रमध्ये एक हो ।