स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको छ : मुख्यमन्त्री लामा

स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको छ : मुख्यमन्त्री लामा


हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको बताएका छन् ।

सोमबार हेटौंडामा आयोजित प्रदेश स्वास्थ्य निर्देशनालयको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे ।

‘बजारका अप्रमाणित तथा स्वास्थ्य सम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु खाने, अव्यवस्थित जीवन पद्दति अवलम्बन गर्दा स्वास्थ्य समस्या हुन्छ । त्यसैले दिनचर्या, खानपान लगायत स्वास्थ्य बन्ने कुरामा सचेत गराउने तथा स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारेका छौं । यसमा सबैको सहयोग आवश्यक छ,’ उनले भने ।
कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले संघीयता लागू भएपछि स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको बताए । उनले अस्पताल प्रदेश सरकार मातहत आएपछि प्राविधिक तथा जनशक्तिमा समेत सुधार गरी सेवा प्रवाहलाई चुस्त बनाइएको उनले जिकिर गरे ।

स्वास्थ्यमन्त्री मगरले समीक्षा गोष्ठीसँगै गत वर्ष भएका कमजोरी सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले स्वास्थ्य क्षेत्रको सुधारका लागि कर्मचारी, स्वास्थ्यकर्मी र राजनीतिक नेतृत्वलगायत सबै जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
गोष्ठीमा प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ ।