काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक निकासका लागि कांग्रेस र एमालेले सहकार्य गरेको बताएका छन् ।
नेकपा एमाले स्कूल विभागद्वारा हुम्लाको सिमिकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अस्थिरता, भ्रष्टाचार र अर्थतन्त्रमा आएको शिथिलताबाट मुलुकलाई निकासा दिन एमाले र कांग्रेस मिलेर सरकार बनाएको बताए । उनले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता दिने दाबी गरे ।
नयाँ सरकार बनेपछि केही सकारात्मक संकेत देखिएका उनले स्पष्ट पारे । ‘वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक संकेत देखिएका छन्, जनतामा विश्वास बढेको छ, सहकारीमा ठगिएका पीडितका लागि न्यायका पक्षमा कारबाही सुरु भएको छ भने विकास निर्माण सुरु हुनुका साथै अन्तर्राष्ट्रियस्तरका सम्बन्ध सुदृढ भएको छ,’ उनले भने ।
कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको उनको धारणा छ । २०४६ सालको आन्दोलन संविधान संशोधन, विभिन्न निर्वाचनदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधान निर्माण लगायतका विषयमा २ पार्टी मिलेका उनले स्मरण गराए ।
प्रतिक्रिया