मध्यपश्चिम विश्वविद्यालय र दक्षिण एशियाका तेह्र विश्वविद्यालयबीच साझेदारी

मध्यपश्चिम विश्वविद्यालय र दक्षिण एशियाका तेह्र विश्वविद्यालयबीच साझेदारी


काठमाण्डु-मध्यपश्चिम विश्वविद्यालय र चीनसहित दक्षिण एशियाका तेह्र विश्वविद्यालयले साझेदारी गर्ने घोषणा गरेका छन् । उक्त साझेदारीमा शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा एकआपसमा सहयोग पुर्‍याउने उल्लेख छ ।

मध्यपश्चिम विश्वविद्यालयले चीनमा आयोजित हुबेई (चीन) र दक्षिण एशियाका विश्वविद्यालय अध्यक्षहरूको फोरममा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षरसमेत गरेको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले उच्च शिक्षा साझेदारी बढाउने उद्देश्यका साथ सहयोगी पहलहरूबारे छलफल गर्न दक्षिण एशिया र चीनका तेह्र संस्थाहरूका अध्यक्ष एवं प्रतिनिधि बीच उक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् ।

फोरम एवं घोषणा पत्रको मुख्य उदेश्य शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिनु रहेको छ । घोषणाले साझेदारीलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढावा दिने र डिजिटल शिक्षालाई एकीकृत गर्नेलगायतका क्षेत्रहरूलाई रेखांकित गरेको छ । यसले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत आपसी सहयोगको महत्वलाई समेत समावेश गरेको छ ।

सहभागी विश्वविद्यालयहरूबीच उच्च–स्तरीय अनुसन्धानलाई बढावा दिदै साझेदारीलाई प्रोत्साहित गर्न प्रतिवद्धतासमेत व्यक्त गरेको छ । उपकुलपति प्रा.डा. गौतमलगायत हुबेई विश्वविद्यालय, चाइना थ्री गर्जेज विश्वविद्यालय, वुहान विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरूले घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

यो हस्ताक्षरले दक्षिण एसिया र चीनबीच बलियो शैक्षिक र सांस्कृतिक सम्बन्ध निर्माण गर्ने तथा प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरुलाई समर क्याम्प, संयुक्त अनुसन्धान लगायतका विभिन्न गतिविधिहरूमा भाग लिई समग्र शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।