बाढीले बगाएको २४ दिनमै बेलिब्रिजले जोडियो खुर्कोट–रामेछाप

बाढीले बगाएको २४ दिनमै बेलिब्रिजले जोडियो खुर्कोट–रामेछाप


काठमाण्डु – गत असोज ११ र १२ गते परेको भारी वर्षापछिको बाढीले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज २४ दिनमै पुनः सञ्चालनमा आएको छ ।

सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । बगाएको खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले २४ दिनमै बेलिब्रिज निर्माण गरेर पुनः सञ्चालनमा ल्याएका हुन् । पुलमा मंगलबारदेखि सवारीसाधन सञ्चालन आएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरेपछि पुल पुनः सञ्चालनमा ल्याइएको छ ।

मंगलबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए ।