एमालेले ३ केन्द्रीय नेतालाई पठायो स्पष्टीकरण सोधिएको पत्र

एमालेले ३ केन्द्रीय नेतालाई पठायो स्पष्टीकरण सोधिएको पत्र


काठमाण्डु – पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार नेकपा एमाले ३ केन्द्रीय नेतालाई स्पष्टीकरण सोधिएको पत्र पठाएको छ ।

कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि दान गरिएको जग्गा स्वीकार्ने निर्णयविपरीत बोल्ने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय सचिवालय बैठकले गरेको थियो ।

महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका छन् । पार्टीले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारणसहित सात (७) दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ ।’

एमाले विधानको धारा ८१ मा पार्टी निर्णय पालना नगर्ने नेताहरूलाई लिलम्बन गर्ने, जिम्मेवारीबाट हटाउने अथवा निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।

नेत्रीद्वय पाण्डे र तिमिल्सिनाले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।