अन्तर्राष्ट्रिय मुद्दाको समाधान गर्न आईपीयूको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष दाहाल

अन्तर्राष्ट्रिय मुद्दाको समाधान गर्न आईपीयूको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष दाहाल


काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा शान्ति प्रक्रियाबारे विश्व समुदायलाई जानकारी दिन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल भएको बताएका छन् ।

अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४९औं महासभामा सहभागी भई स्वदेश फर्केपछि मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुदृढीकरण र अन्तर्राष्ट्रिय मुद्दाको समाधान खोज्नका लागि सहकार्य र साझेदारी गर्न आईपीयूको महत्त्वपूर्ण भूमिका रहने बताए ।

औपचारिक सम्बोधनका साथै विभिन्न बैठकमा आईपीयूका अध्यक्ष र महासचिव, स्वीट्जरल्याण्डको संघीयसभा नेसनल काउन्सिलका अध्यक्ष तथा अन्य राष्ट्रका समकक्षीसँगका भेटघाट विश्व समुदायमा नेपालको सम्बन्ध विस्तार र उपस्थितिका लागि महत्त्वपूर्ण रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

महासभाका क्रममा एसिया–प्यासिफिक समूहको बैठक र दीगो विकास सम्बन्धी छलफलमा सांसद कृष्णप्रसाद पौडेल र तारामान स्वार तथा महिला तथा युवा सांसदको फोरममा सुनिता बराल र निशा डाँगी सहभागी भई आफ्ना विषयवस्तु राखेको अध्यक्ष दाहालले जानकारी दिए ।

महासचिवहरूको फोरममा महासचिव पद्मप्रसाद पाण्डेले संसद् र नागरिकको सहभागिता, संसद्मा समाचार र नवप्रवर्तन, संसदीय समितिबीच प्रतिस्पर्धात्मक व्यवस्थापन लगायत छलफलमा सहभागिता जनाएका थिए । १८१ राष्ट्र सदस्य रहेको आईपीयूको महासभामा १३० भन्दा बढी राष्ट्रका करीब १ हजार ५०० प्रतिनिधि र कतिपय देशका पर्यवेक्षकको सहभागिता थियो ।