हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा


गुल्मी – विगत ४ महिनादेखि गुल्मीमा हवाई उडान पटक–पटक अवरुद्ध बनेको छ ।

गत असारको दोस्रो हप्तादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् ।

टिकट काटेर पनि पटक–पटक विमानस्थल पुगेर घण्टौंसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा निकै सास्ती पाइएको यात्रुहरूले बताउने गरेका छन् । चाडपर्वको समयमा समेत लगातार उडान अवरुद्ध भइरहेका छन्, जसले नागरिक आक्रोशित छन् ।

बाक्लो कुहिरो लागेर मौसममा खराबी आउने गरेकाले गत असार १४ गतेदेखि उडान सेवा अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताए । साताको २ पटक नियमित उडान हुँदै आएकोमा नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान गर्न नसकेको उनले जानकारी दिए ।

‘मौसम खराबीकै कारण गत असारको दोस्रो सातादेखि जिल्लामा जम्मा ५ वटा मात्र हवाई उडान भएका छन् । मौसम ठिक होला भन्ने अपेक्षासहित रेसुङ्गा–काठमाण्डु र काठमाण्डु–रेसुङ्गा आवतजावतका लागि टिकट काटे पनि अन्तिममा स्थगन हुँदाको समस्या हामीले महसूस गरेका छौं तर मौसमको अवस्था हाम्रो नियन्त्रणमा हुँदैन,’ स्टेसन प्रमुख थापाले भने ।

गुल्मी–काठमाण्डुका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनेटर जहाजले उडान गर्दै आइरहेको छ । यात्रुको चापका कारण साताको ४ पटकसम्म यहाँ उडान हुँदै आएको थियो ।

नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाण्डुका लागि ७ हजार ३०० र काठमाण्डुबाट ७ हजार ५०० रुपैयाँ भाडा निर्धारण गरेकोे छ । जिल्लामा गत १ वर्षअघिदेखि व्यावसायिक रूपमा नियमित रूपमा हवाई उडान सुरु गरिएको छ ।