पूर्वप्रधानमन्त्री डा. भट्टराईको पार्टीको नाममा थपियो ‘नयाँ शक्ति’, माघमा महाधिवेशन हुने

पूर्वप्रधानमन्त्री डा. भट्टराईको पार्टीको नाममा थपियो ‘नयाँ शक्ति’, माघमा महाधिवेशन हुने


पोखरा – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को नाममा ‘नयाँ शक्ति’ शब्द थपिएको छ ।

तत्कालीन माओवादी पार्टीबाट बाहिरिएपछि डा. भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गरे पनि पार्टी नफस्टाएपछि उनी अर्कै पार्टीतिर लागेका थिए । तर फेरि उनमा नयाँ शक्ति मोह देखिएको छ ।

पोखरामा मंगलबार समापन भएको पार्टीको प्रथम विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा परिवर्तन गरिएको छ ।

अब पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको नेत्री मानुषी यमी भट्टराईले जानकारी दिइन् ।

विधान अधिवेशनले आगामी माघ २५,२६ र २७ गते काठमाण्डुमा महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना र ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेशी , १ खसआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन् ।

निर्वाचन समिति ३३ सदस्यीय हुनेछ । सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको जनाइएको छ ।

पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ । सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था विधानमा गरिएको छ ।