मोदीद्वारा पुटिनसँगको भेटमा युक्रेन द्वन्द्वको छिटो अन्त्यको आह्वान

मोदीद्वारा पुटिनसँगको भेटमा युक्रेन द्वन्द्वको छिटो अन्त्यको आह्वान


काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रूसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा युक्रेन द्वन्द्व शान्तिपूर्ण र छिटो समाधान होस् भन्ने चाहेको बताएका छन् ।

कजान शहरमा कडा सुरक्षाबीच आयोजित ३ दिने सम्मेलन २०२२ मा युक्रेन द्वन्द्व सुरु भएयता रूसमा भएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । सम्मेलनमा पुटिनले पश्चिमको प्रभुत्वलाई चुनौती दिने उद्देश्यले गठबन्धन निर्माण गर्न खोजिरहेका छन् ।

‘रूस र युक्रेनबीचको द्वन्द्वबारे हामी निरन्तर सम्पर्कमा छौं,’ हात मिलाएर अंकमाल गरेपछि मोदीले पुटिनलाई भने, ‘विवादहरू शान्तिपूर्ण रूपमा मात्र समाधान हुनुपर्छ भन्ने हाम्रो विश्वास छ, हामी शान्ति र स्थिरता छिटो बहाली गर्ने प्रयासहरूलाई पूर्ण समर्थन गर्छौं ।’

पुटिनले रूस र भारतबीचको विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको प्रशंसा गर्दै सम्बन्धलाई थप विकास गर्ने प्रतिबद्धता जनाए ।

युक्रेन द्वन्द्व सुरु भएदेखि नयाँदिल्लीले कूटनीतिक सन्तुलन कायम राख्दै किएभलाई मानवीय सहायताको प्रतिबद्धता जनाए पनि रूसको आक्रमणको स्पष्ट निन्दा गर्नबाट बचेको छ ।

भारतले आफूलाई सम्भावित मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्दै मोदीले वार्तालाई प्रोत्साहन गर्ने प्रयासमा अगस्टमा किएभ र जुलाईमा मस्कोको भ्रमण गरे ।

चिनियाँ राष्ट्रपपति सी जिनपिङ, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित करीब २ दर्जन अन्य नेताहरू शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

एजेन्डाका मुख्य मुद्दाहरूमा स्विफ्टको विकल्पका रूपमा ब्रिक्स नेतृत्वको भुक्तानी प्रणालीको पुटिनको विचार र मध्यपूर्वमा बढ्दो द्वन्द्व समावेश छन् । अन्तर्राष्ट्रिय वित्तीय नेटवर्क स्विफ्टबाट रूसी बैंकहरूलाई २०२२ मा निकालिएको थियो ।