सुन तस्कर र हुन्डीको कारोबारमा संलग्नसँग आईजीपीको हिमचिम

सुन तस्कर र हुन्डीको कारोबारमा संलग्नसँग आईजीपीको हिमचिम


काठमाडौं – इन्टरपोलको महासभामा माग लिन नेपालबाट यूएई गएका आईजीपी सर्वेन्द्र खनालले एक साता यूएईमा विताए इन्टरपोलको महाशभा सुरु हुनुभन्दा दुई दिन अघि नै दुबई पुगेका खनाल महासभा सकिएको दुई दिन पछि मात्र गत शनिबार नेपाल फर्किएका छन् ।

देशको शान्ति सुरक्षा अस्त व्यस्त भएको बेला आईजीपी एक सातासम्म दुबईमा बस्नुलाई धेरैले आश्चर्य मानेका छन् । झन् दुबईमा सुन तस्करी तथा हुन्डीको कारोबारमा संलग्नहरुसँग आईजीपीको हिमचिम बाहिर आएको छ । एकातिर सुनकाण्डका थुप्रै शंकास्पद व्यक्ति खुलेआम हिँडिरहेका छन् भने अर्कातिर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल युएई गएका बेला आरोपितसँगै हिमचिममा देखिएका छन् ।

स्रोतका अनुसार इन्टरपोलको महासभामा माग लिन नेपालबाट यूएई गएका आईजीपी खनालसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाही, इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) उमेशराज जोशी, कुकुर शाखाकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देउती गुरुङ लगायतका अधिकारीले त्यहाँ सुनकाण्डका एक आरोपितसँग हिमचिम गरेका छन्।

सुनकाण्डमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ सँग जोडिएर हुन्डी कारोबार गरेको आरोप लागेका धादिङ नीलकण्ठ नगरपालिका–५ घर भई यूएईमा व्यवसाय गर्दै आएका ठाकुर ढुंगानासँग आईजीपीसहितका प्रहरी अधिकारीहरु ‘रिट्रिट’ मा सहभागी भएका हुन् ।

सनम शाक्य हत्या तथा सुन तस्करीमा प्रतिवादी बनाइएका ठाकुर ढुंगानासँग आइजिपी खनालले मञ्च शेयर गरेका थिए । एनआरएन युएईले गरेको कार्यक्रममा ढुंगाना र खनाल एउटै मञ्चमा बसेका थिए । स्रोतका अनुसार एनआरएनमा आबद्ध विवादास्पद व्यापारीहरुले आइजिपीलाई भोज दिएका थिए । आइजिपी खनाल अन्जानबस त्यसरी विवादास्पद व्यक्तिसँग बसे वा नियतबश भन्ने खुल्न सकेको छैन ।