सत्तारुढ दलको बैठक बस्दै

सत्तारुढ दलको बैठक बस्दै


काठमाण्डु–-प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । ओली सरकार बनेको आज १०० दिन पनि पुगेको छ । प्रधानमन्त्री ओलीले आजै दिउँसो साढे २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।

बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ । प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आमजनता पार्टीले सत्ता गठबन्धन दल कांग्रेस–एमालेले मुलुकका समस्या समाधान नगरी सरकार टिकाउने ध्यानमा लागेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।