हमास कमजोर भएपनि किन हुन सकेन गाजामा युद्धविराम ?

हमास कमजोर भएपनि किन हुन सकेन गाजामा युद्धविराम ?


काठमाण्डु-इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले गाजामा युद्ध अझै समाप्त नभएको भनेर गरेका टिप्पणीले हमासका नेता याह्या सिन्वारको मृत्युपछि त्यहाँ एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध तत्काल समाप्त हुन्छ भन्ने अपेक्षा गर्नेहरूको आशामा तुषारापात भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनलगायतका पश्चिमा नेताहरूले सिन्वार मारिएपछि अब गाजा युद्धले नयाँ मोड लिनुपर्ने धारणा व्यक्त गरेका थिए । तर विभिन्न पर्यवेक्षकहरूका अनुसार लडाइँमा संलग्न दुवै पक्ष अनिच्छुक रहेकाले त्यहाँ कुनै प्रकारको शान्ति सम्झौता हुने सम्भावना निकै नै क्षीण छ । इजरायलले सिन्वारको मृत्यु भएको पुष्टि गरेको केही घण्टापछि बोल्दै नेतन्याहूले त्यसलाई उल्लेख्य कोसेढुङ्गाको संज्ञा दिँदै लडाइँलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

हालैका साताहरूमा त्यहाँको द्वन्द्व झन् चर्केर गएको देखिन्छ । गाजामा हमाससँगको लडाइँ फैलिएर इजरायल अधीनस्थ वेस्टब्याङ्क, दक्षिणी लेबनानमा इजरायली अतिक्रमणका साथै उक्त देशको ठूलो भूभागमा व्यापक बम हमलाहरूको चरणमा पुगेको छ ।

यसैबीच लेबननी उग्रवादी समूह हिज्बुल्लाहले इजरायलविरुद्धको लडाइँलाई निरन्तरता दिने बताएको छ । उक्त समूहको समर्थक इरानले प्रतिरोधको भावना गाजामा उस्का प्यालेस्टिनी साझेदारमध्येका एक सिन्वार मारिएको घटनाले झन् सबल बन्न पुगेको घोषणा गरेको छ ।

सिन्वार इजरायलले सर्वाधिक खोजी गरिरहेका मानिसको सूचीमा शीर्ष स्थानमा थिए । सिन्वारलाई गत वर्ष अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा गरेको हमलाका पछाडिका एक महत्वपूर्ण व्यक्ति मानिन्थ्यो । त्यस घटनामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जनालाई बन्धक बनाइएको थियो ।

लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स (एलएसई) मा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक फवाज गेर्गेसले बीबीसीसँग कुरा गर्दै दुई पक्षबीचको आपसी अविश्वास र परस्परविरोधी उद्देश्यहरूका कारण युद्धविरामका लागि निकै थोरै आशा देखिएको बताएका छन् । उनका अनुसार इजरायली प्रधानमन्त्री उनको समग्र उद्देश्यमा एकदमै स्पष्ट छन् ।

प्राध्यापक गेर्गेस इजरायली प्रधानमन्त्रीको मुख्य उद्देश्य मध्यपूर्वमा भूराजनीतिक परिदृश्यको पुनर्लेखन हो भन्ठान्छन् । उनका अनुसार यही कारणले गर्दा नै सिन्वार मारिएपछि पनि गाजामा युद्धविरामसम्बन्धी चर्चाले नेतन्याहूको विस्तारित उद्देश्यहरू समेटेका थिएनन् ।

उनका अनुसार त्यस्तो उद्देश्य हमासलाई पराजित गर्ने कार्यभन्दा पनि टाढा पुग्छ । त्यसमा वेस्टब्याङ्क, हिज्बुल्लाह र अन्ततः इरानलगायतका उक्त उग्रवादी समूहका समर्थक र साझेदारहरूलाई निसाना बनाउने कार्य पर्छ । बीबीसीको रिपोर्टमा आधारित