राष्ट्रपति पौडेलसँग प्रतिपक्षी दलका नेताहरूको भेटवार्ता

राष्ट्रपति पौडेलसँग प्रतिपक्षी दलका नेताहरूको भेटवार्ता


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिपक्षी दलका नेताहरूले भेटवार्ता गरेका छन् ।

बुधवार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रतिपक्षी दलका नेताहरूले भेट गरेका हुन् ।

प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमी–कमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतलनिवासमा आएको जनाएका छन् ।

राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनीहरूले संविधानको मर्म विपरीत र बहुलवादमा आधारित मर्म विपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवद्र्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे । उनले भने, ‘संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु ।’

संसद्मा प्रतिपक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र आम जनता पार्टी छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा माओवादी अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।