विपद् प्रतिकार्य एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव छैन : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

विपद् प्रतिकार्य एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव छैन : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल


काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नभई सरोकारवाला निकायहरूको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र सफल प्राप्त हुने बताएका छन् ।

कात्तिक ७ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा नागढुंगा–मुग्लिङ सडकखण्डमा अवस्थित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी सञ्चालन गरिएको बेसिक लाइफ सपोर्ट एण्ड प्राइमरी ट्रमा केयर तालिम समापन कार्यक्रममा सो कुरा बताए ।

महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताए । उनले विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूले भूकम्प, बाढीपहिरो, सवारी दुर्घटना लगायतका विपद् जोखिममा परेका हजारौं नागरिकहरूको जीवन रक्षा गरेको बताए ।

पोस्ट क्र्यास रेस्पोन्स एण्ड केयरअन्तर्गत पाइलट प्रोजेक्टको रूपमा नागढुंगा–नौविसे मुग्लिङ सडक खण्डमा हुने दुर्घटनाका घाइतेहरूलाई तत्काल उद्धार तथा उपचार सेवा प्रदान गरी जीवन रक्षा गर्ने उद्देश्य अनुरूप भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच माघ २५ गते पोस्ट क्र्यास रेस्पोन्स एण्ड केयर सर्भिस मोडलको सम्झौता भएको थियो ।

उनले सम्झौताअनुरूप सशस्त्र प्रहरी कर्मचारीहरूलाई रोड ट्राफिक क्र्यास रेस्क्यु तालिम प्रदान, सवारीसाधन निकाल्ने उपकरणको प्राप्ति, कमाण्ड सेन्टरको स्थापना टेलिमेडिसिन सेवाको सुरुवात, सडक दुर्घटना सचेतना सम्बन्धी होर्डिङ बोर्ड राख्ने तथा पर्चाहरूको वितरण जस्ता कार्यहरू सम्पन्न भइसकेको बताए ।

उनले पृथ्वी हाइवे ट्रमा सेन्टरको स्तरोन्नति गरी थप सुविधासम्पन्न बनाउनका लागि आवश्यक मेडिकल उपकरणहरूको उपलब्धताका लागि पहल गरिसकिएको बताए ।

उनले तालिममा प्राप्त ज्ञानले दुर्घटनामा परेका नागरिकहरूलाई समयमा नै स्वास्थ्य सेवा प्रदान गरी जीवन रक्षा गर्ने कार्यमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

महानिरीक्षक अर्यालले ठाउँ विशेष हेरी नेपालका सबै स्थानहरूमा भोलिन्टियरहरू उत्पादन गरी आमनागरिकमा जनचेतना फैलाउने उद्देश्यका साथ औपचारिक रूपमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नै भदौ १६ गतेदेखि स्वयमसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिमहरू सञ्चालन गरिएको तथा देशका विभिन्न स्थानहरूमा हालसम्म ५८८ जना भोलिन्टियरहरूलाई तालिम दिइसकेको बताए ।

महानिरीक्षक अर्यालले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको परिसरभित्र सम्पन्न भएको नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गर्नुका साथै ट्रमा सेन्टरको समेत अवलोकन गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले नागढुंगा, नौविसे, मुग्लिङ, करिडोरमा रहेको सेटेलाइट हस्पिटलका स्वास्थ्यकर्मीहरूद्वारा भविष्यमा हुनसक्ने कुनै पनि विपद् तथा सडक दुर्घटनाको समयमा प्रभावकारी रूपमा परिचालित भई घाइतेको समयमा नै उपचार गरी जीवनरक्षा तथा अङ्गभङ्ग हुनबाट जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

२ दिन अवधिको तालिममा २६ जना स्वास्थ्यकर्मी सहभागी थिए । कार्यक्रममा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमन, इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, राष्ट्रिय सडक सुरक्षा परिषदका सदस्य सचिव कृष्णराज पन्त, चितवन र धादिङका प्रमुख जिल्ला अधिकारीहरू ईन्द्रदेव यादव र सुमन घिमिरे लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृत, विभिन्न संघसस्थाका पदाधिकारी र सञ्चारकर्मीको समेत उपस्थिति थियो ।