साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै बंगलादेश बन्यो समूह विजेता

साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै बंगलादेश बन्यो समूह विजेता


काठमाण्डु – साफ महिला च्याम्पियनशिप प्रतियोगितामा भारतलाई पराजित गरेर समूह विजेता बनेको बंगलादेशले सेमिफाइनलको यात्रा तय गरेको छ ।

दशरथ रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले भारतमाथि ३–१ गोलअन्तरको जीत हात पारेको छ ।

साविक विजेता बंगलादेशले यसअघिको संस्करणमा पनि दशरथ रंगशालामै भारतमाथि ३–० गोलअन्तरको जीत निकालेको थियो । बंगलादेशको जीतमा गोलकिपर रुपना चक्माले उत्कृष्ट प्रदर्शन गरिन् भने तोहुरा खातुनले २ गोल गरिन् ।

खेलमा अफिदा खाँडकरले १ गोल गरिन् । भारतका लागि बालदेवीले सान्त्वना गोल गरिन् ।

भारतलाई पराजित गरेर बंगलादेश समूह ‘ए’बाट विजेता बनेको छ । भारत हारपछि पनि समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

बंगलादेशले २ खेलबाट ४ अंक बनाएको छ भने भारत समान खेलबाट ३ अंकसहित अन्तिम ४ मा प्रवेश गर्दा पाकिस्तान बाहिरिएको छ । पाकिस्तानले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोकेको थियो तर भारतसँग भने ५–२ ले पराजित भएको थियो ।

बिहीबार समूह ‘बी’मा नेपाल र श्रीलंका भिड्नेछन् । नेपालको ४ अंक छ भने श्रीलंकाको ३ अंक छ । समूहको अर्को टीम भुटानको पनि ४ अंक छ । बिहीबार नेपाल र श्रीलंकाबीचको खेलमा सेमिफाइनल पुग्न नेपाललाई बराबरी मात्र भए पनि पुग्छ भने श्रीलंकालाई जीत आवश्यक छ । नेपाल समूह विजेता बने सेमिफाइनलमा भारतसँग भिडन्त हुनेछ ।