नेपालका २ छिमेकी सम्बन्ध सुधार्न सहमत, रुसमा मोदी र सीबीच द्विपक्षीय वार्ता

नेपालका २ छिमेकी सम्बन्ध सुधार्न सहमत, रुसमा मोदी र सीबीच द्विपक्षीय वार्ता


काठमाण्डु – नेपालका दक्षिणी र उत्तरी दुई छिमेकी क्रमशः भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् ।

यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबीच भएको झडपपछि छिमेकी राष्ट्रहरूबीच सम्भावित सुधारको संकेत गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसमा आयोजित ब्रिक्स बैठकको अवसरमा भेटवार्ता गरेका छन् । यो ५ वर्षपछि २ नेताबीचको पहिलो औपचारिक भेट हो ।

सीले मोदीलाई चीन र भारतले सहकार्य बढाउनुपर्ने बताएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । ‘चीन र भारतले इतिहासको प्रवृत्ति र द्विपक्षीय सम्बन्धको विकासको दिशालाई सही ढंगले बुझ्नु दुवै देश र जनताको मौलिक हितमा छ,’ सरकारी प्रसारक सीसीटीभीले सीलाई उदृत गर्दै भनेको छ, ‘दुवै पक्षले सञ्चार र सहकार्य बढाउनुपर्छ, मतभेद र भिन्नताहरूलाई उचित ढंगले सम्हाल्नुपर्छ र एकअर्काको विकासका सपनाहरूलाई साकार पार्नुपर्छ ।’

सीले मोदीलाई दुवै देशले अन्तर्राष्ट्रिय जिम्मेवारीहरू बहन गर्नुपर्ने, एकतामार्फत शक्ति खोज्ने विकासशील देशहरूका लागि उदाहरण बन्नुपर्ने र बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धहरूको लोकतान्त्रिकीकरणमा योगदान पुर्‍याउनुपर्ने बताएका सीसीटीभीले जनाएको छ ।

मोदीले चीनसँगको सम्बन्धमा पारस्परिक विश्वासले मार्गदर्शन गर्ने बताउँदै सीमा विवादमा भएको सहमतिलाई स्वागत गरेका छन् ।

‘भारत–चीन सम्बन्ध हाम्रा देशका जनताका लागि र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण छ,’ मोदीले एक्समा लेखेका छन्, ‘पारस्परिक विश्वास, पारस्परिक सम्मान र पारस्परिक संवेदनशीलताले द्विपक्षीय सम्बन्धलाई मार्गदर्शन गर्नेछ ।’

विश्वका २ सबैभन्दा धेरै जनसंख्या भएका राष्ट्रका नेताहरूले विगत केही वर्षमा अन्तर्राष्ट्रिय शिखर सम्मेलनहरूको अवसरमा छोटो भेटघाट गरेका थिए । सन् २०१९ अक्टोबरमा सी भारतको महाबलीपुरम शहरमा मोदीसँग भेट्न आएको बेला पछिल्लोपटक आमनेसामने औपचारिक वार्ता भएको थियो ।

केही महिनापछि सन् २०२० मा उच्च हिमाली क्षेत्र लद्दाखमा रहेको विवादित सीमामा भएको झडपमा कम्तीमा २० भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएपछि सम्बन्ध बिग्रिएको थियो ।

चीन र भारत कट्टर प्रतिद्वन्द्वी हुन् र दुवैले एकअर्कालाई वास्तविक नियन्त्रण रेखा (एलएसी) भनिने अनौपचारिक विभाजन रेखा वरिपरिको क्षेत्र कब्जा गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।

त्यसयता दुवै पक्षले दशौं हजार सैनिक फिर्ता गरेका छन् र साँघुरो विभाजनपट्टीमा गस्ती नपठाउने सहमति गरेका छन् तर भारतले सोमबार चीनसँग गस्ती व्यवस्थाबारे सहमति भएको जनाएको छ । यसले सैन्य गतिरोधलाई कम गरेको छ ।