दोस्रोपटक म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत लगिँदै

दोस्रोपटक म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत लगिँदै


काठमाण्डु-सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका रास्वपाका सभापपति रवि लामिछानेलाई दोस्रोपटक म्याद थपको अनुमतिका लागि बिहीवार कास्की जिल्ला अदालत लगिँदै छ ।

लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको बताइन् । उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरिन् ।

लामिछानेलाई प्रहरीले कात्तिक २ काठमाडौंबाट पक्राउ गरेको हो । कात्तिक ४ गते कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पक्राउ परेको दिन गएको शुक्रबारबाटै गणना गर्नेगरी न्यायाधीश नवराज दाहालको इजलासले उनलाई हिरातमा राखेर अनुसन्धान गर्न ६ दिनको समय दिएको थियो । अदालतले दिएको म्याद सकिएकाले आज फेरि म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि आजै अदालत लगिँदै छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडे पनि कास्की प्रहरीकै हिरासतमा छन् ।