भारतमा दाना आँधी : तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, दुई सयभन्दा बढी रेल र हवाई उडान बन्द

भारतमा दाना आँधी : तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, दुई सयभन्दा बढी रेल र हवाई उडान बन्द


काठमाण्डु-चक्रवाती आँधी ‘दाना’ आज पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा पुग्दैछ । पश्चिम बंगाल र ओडिशाका सरकारले चक्रवात दानासँग लड्नका लागि तयारी पूरा भएको बताएको छ ।

आँधीका कारण रेल्वे विभागले दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाएको छ । सावधानीका रूपमा पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।

दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय कात्तिक २५ गतेसम्म बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ ।

दाना आँधी बिहीबार पुरी र सागर द्वीपको बीचको तटमा पुग्न सक्ने जनाइएको छ । जसका कारण उक्त स्थानमा बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेको छ ।

पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सम्भावित रूपमा आँधीबाट प्रभावित जिल्लाहरूको अवस्थाको निगरानी गर्ने जिम्मेवारी सचिव–स्तरका अधिकारीहरूलाई दिएका छन् । त्यस क्षेत्रमा करिब एक हजार राहत शिविर खोलिएको छ । विद्यालय र सरकारी भवनमा जनताका लागि बास र खानाको व्यवस्था गरिएको छ ।