एमालेले सरकारलाई भन्यो : अनुसन्धान र अभियोजनमा बाधा पुर्‍याउने काम भयो, नियन्त्रण गर

एमालेले सरकारलाई भन्यो : अनुसन्धान र अभियोजनमा बाधा पुर्‍याउने काम भयो, नियन्त्रण गर


काठमाण्डु – सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले सहकारी ठगी प्रकरणको अनुसन्धान र अभियोजनमा बाधा पुर्‍याउने काम विभिन्न पक्षबाट भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ । आफै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई एमाले महासचिव शंकर पोखरेलले बिहिबार विज्ञप्ति जारी गर्दै स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण तयार गर्न आग्रह गरेका हुन् ।

महासचिव पोखरेलले विज्ञप्तिमा लेखेका छन्, ‘हाम्रो पार्टी अख्तियार प्राप्त निकायबाट भइरहेको अनुसन्धान र अभियोजनको प्रक्रियामा बाधा पु¥याउने खालका कुनै पनि प्रकारका गतिविधि नगर्न सबै पक्षको ध्यानाकर्षण गर्दछ । नेपाल सरकारलाई समेत त्यस प्रकारको गतिविधि नियन्त्रण गर्न स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण तयार गर्न अनुरोध गर्दछ ।’

संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा छानबिन अगाडि बढाउँदा प्रधानमन्त्री र सरकारका जिम्मेवार व्यक्ति तथा निकायविरुद्ध गलत आक्षेप लगाएर अनुसन्धान प्रभावित पार्न खोजेको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको प्रदर्शनतर्फ संकेत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘‘छानबिनको प्रक्रियालाई प्रभावित गर्ने गरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय हो ।’

महासचिव पोखरेलले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र, भयरहित र वैज्ञानिक बनाउनु सबैको दायित्व भएको लेखेका छन् । ‘सबै पक्षको सकारात्मक सहयोगबाट नै अनुसन्धानको प्रक्रियालाई प्रभावकारी बनाई दोषी नउम्कने र निर्दोष कोही पनि नफस्ने कुराको सुनिश्चिता गर्न सकिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।