चिनियाँ नागरिकसँग १६ वर्षीया किशोरीको जबरजस्ती विवाह गराइदिने ८ जना पक्राउ

चिनियाँ नागरिकसँग १६ वर्षीया किशोरीको जबरजस्ती विवाह गराइदिने ८ जना पक्राउ


काठमाण्डु – प्रहरीले १६ वर्षीया वालिकालाई चिनियाँ नागरिकसँग जबरजस्ती विवाह गराइदिएको आरोपमा मण्डपबाटै ८ जनालाई पक्राउ गरेको छ ।

सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा उद्दार गरिएको जानकारी दिए ।

प्रहरीले तीन जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरेको जनाएको छ । किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका– १२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

२० वर्ष उमेर नपुगी विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था व्यवस्था अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबर्जस्ती विवाह गराएमा विवाह बदर गरी कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने कानुनी व्यवस्था छ । मुलुकी देवानी संहिता २०७४ म‍ा यस्तो व्यवस्था गरिएको छ ।

प्रहरी उपरीक्षक तिम्सिनाले किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गर्दै गर्दा उद्दार गरिएको जानकारी दिए ।