एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन आह्वान

एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन आह्वान


काठमाण्डु – स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धताअनुरूप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरू गर्नका लागि आवेदन खुला गरेको छ ।

एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत समुदायमा अर्थपूर्ण र दीगो प्रभाव पार्ने परियोजनाहरू कार्यान्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानका लागि आवेदन दिन आमन्त्रण गरेको छ ।

गत वर्ष १८औं वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजनाहरू प्रदेश स्तरमा सञ्चालनमा रहेका छन् । ‘यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्दछ । यस पहलअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरू लागू गरिनेछन्,’ एनसेलले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत ७ प्रदेशमा कूल १९ वटा परियोजना छानिने छन् । छनौटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख अनुदान प्रदान गरिनेछ । यस पहलका लागि कूल योगदान १ करोड ९० लाखको हुनेछ । एनसेल फाउन्डेसनले गैरनाफामूलक स्थानीय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको छ ।

पहलले दीगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनाहरूलाई सहयोग गर्न ठूलो महत्त्व राख्दछ । एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिनेछ ।

‘एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजनामार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौं । हामी सामुदायस्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, ‘नाइन्टिन फर नाइन्टिन पहलमार्फत हामी झण्डै २ दशकदेखि हाम्रो यात्रामा साथ दिने हाम्रा समुदायहरूलाई लाभ हुने खालको सामाजिक परियोजनाहरू कार्यान्वयन गर्न प्रतिबद्घ छौं । यो पहलले स्थानीय स्तरमा महत्त्वपूर्ण र दीगो परिवर्तनहरू ल्याउन मद्दत पुर्‍याउने विश्वास लिएका छौं ।’

गत वर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्न सहयोग गरेको छ । यस वर्षका परियोजनाहरूले समुदायलाई सशक्त बनाउँदै दीगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न लागि योगदान पुर्‍याउने उद्देश्य राखेको एनसेलले जनाएको छ ।

अनुदान अर्थात परियोजना प्रस्तावका लागि आवेदन दिन इच्छुक योग्य संघसंस्थाहरूले एनसेल फाउन्डेसनको वेबसाइटमा गई ‘एप्लाई फर ग्रान्ट’मा क्लिक गरेर आवेदन दिन सक्छन् । अनुदान र यसको योग्यता र मापदण्डबारे थप जानकारीका लागि वेबसाइटमा थप अध्ययन गर्न र इमेल गर्न सकिने जनाइएको छ ।