निर्मलाका हत्यारा पत्ता लगाउन डा .केसीको सरकारलाई तीन हप्ते अल्टिमेटम

निर्मलाका हत्यारा पत्ता लगाउन डा .केसीको सरकारलाई तीन हप्ते अल्टिमेटम


काठमाडौं – सोमबार पत्रकार सम्मेलन गरी डा. गोविन्द केसीले सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् । माग पूरा नभए आमरण अनसन बस्ने डा. केसीले चेतावनी दिए ।

डा. केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे । उनले १६ औं पटक अनशन बस्ने चेतावनी दिएका छन् । ती माग पुस २ गतेसम्म पूरा नभएमा सत्याग्रहसमेतको आन्दोलन शुरु गर्ने केसीले चेतावनी दिएका छन् ।

यस्ता छन्  केसीका मागहरु :-

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।

क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।

ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।

ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डु विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।