काठमाण्डु – अध्यक्ष राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको छ ।
नेता महतो नेतृत्वमा दल दर्ताका लागि शुक्रबार आयोगमा निवेदन दिइएको दलका नेता केशव झाले बताए । नयाँ पार्टीमा अध्यक्षसहित १७३ केन्द्रीय सदस्य रहेका उनले जानकारी दिए ।
‘राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने प्रयोजनका निम्ति कानूनअनुसार आवश्यक सबै कागजातहरू यसै पत्रसाथ संलग्न गरी पठाइएको छ,’ आयोगमा पेश गरेको निवेदनमा भनिएको छ ।
पूर्वमन्त्री महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी केही समयदेखि राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया